आर्थिक वर्षको शुरुमा अलैँचीको निकासी गएको वर्षको तुलनामा कमी

0

विर्तामोड, ३० असोज ।

आर्थिक वर्षको शुरुमा अलैँचीको निकासी गएको वर्षको तुलनामा घटेको छ भने अदुवाको तथ्याङ्क भने सामान्य बढेको छ । गत आव २०७६÷७७ (साउन–भदौ) मा रु ११ करोड ८३ लाख ५० हजार मूल्यको अदुवा निकासी भएकामा यस आव (साउन–भदौ) मा रु १३ करोड ८४ लाख ७२ हजारको अदुवा निकासी भएको छ । केन्द्रको तथ्याङ्कअनुसार गत आव (साउन–भदौ) मा २२ लाख ५९ हजार ४३१ किलो अदुवा निकासी भएकामा यस आव (साउन–भदौ) मा २८ लाख ७९ हजार १०० किलो निकासी भएको छ ।

अदुवाले गत आवको तुलनामा १७ प्रतिशत आम्दानी वृद्धि गर्दै कूल निकासीको शून्य दशमलव सात प्रतिशत ठाउँ ओगट्न सफल भएको छ ।
यता अलैँचीको तथ्याङ्कमा भने सामान्य सुधार भए पनि गएको आवको तुलनामा घटेको देखिन्छ । गएको आव २०७६÷७७ (साउन–भदौ) मा रु एक अर्ब दुई करोड ५९ लाख ८९ हजारको अलैँची निकासी भएको छ भने यस आव २०७७÷७८ मा रु ९६ करोड सात लाख १६ हजार मूल्यको निकासी भएको देखिन्छ । गत आर्थिक वर्ष २०७६÷७७ (साउन–भदौ)मा १२ लाख ७५ हजार २९४ किलो अलैँची नेपालमा निर्यात भएकामा यस आव २०७७÷७८ (साउन–भदौ) मा १२ लाख ८४५ किलो अलैँची निर्यात भएको केन्द्रको तथ्याङ्कले देखाउँछ ।

विभिन्न समस्याले अलैँचीको भाउमा गिरावट आएकाले पनि परिमाण र आम्दानी खुम्चिएको सरोकारवालाको भनाइ छ ।

कोरोनाका कारण किसान र व्यवसायीसँग भण्डारणमा रहेको पुरानो अलैँची बाहिरी देशमा निकासी नभएकाले घटेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीको भनाइ छ ।

गत वर्षको अलैँची निकासी नभएको र यस वर्षको अलैँची उत्पादन भइसकेकाले पनि अलैँची सुधार नभएको अध्यक्ष कार्की बताउनुहुन्छ ।
यस्तै वर्षेनी अलैँचीको भाउमा गिरावट आएकै कारण पनि आम्दानी घटेको अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सचिव मातृका घिमिरेको भनाइ छ ।

पाँच वर्षअघि अलैँचीको मूल्य रु एक लाखप्रति मन (४० किलो) भएकामा अहिले प्रतिमन रु २० देखि ३० हजारको अनुपात छ । यसरी अलैँचीको बिक्री मूल्य घटेकाले पनि आम्दानी घटेको घिमिरेको भनाइ छ । यस आर्थिक वर्षमा कृषिजन्य पदार्थले कूल ३२ दशमलव छ प्रतिशत ओगटेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । ०००००

Share.

Leave A Reply