सम्झौताप्रति प्रतिबद्ध रहन तालिबानलाई अमेरिकी विशेषदूतको आग्रह

0

विर्तामोड, ३० असोज ।

अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अमेरिका–तालिबान बीचको सम्झौताको पूर्ण कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गर्न तालिबान समूहलाई आग्रह गर्नु भएको छ । अफगानिस्तानमा पछिल्लो समय हिंसात्मक घटना बढेका प्रति चिन्ता व्यक्त गर्दै विशेषदूत खलिलजादले शान्तिप्रतिको अफगानी जनताको भावनालाई सम्मान गर्न आग्रह गर्नु भएको छ ।
उहाँले ट्वीट मार्फत भन्नुभएको छ, “तालिबान समूहसँग म र जनरल मिलरले धेरै चरणमा प्रत्यक्ष भेटवार्ता र छलफल गरेका छौं । यी बैठकमा अमेरिका–तालिबानबीच भएका सम्झौता र व्यक्त सबै प्रतिबद्धताहरुको कार्यान्वयनमा सहमति भएको छ ।”
उहाँले अहिले ठूलो संख्यामा अफगानी जनता मारिएको बताउँदै सरकार र तालिबान दुबै पक्षबाट हिंसामा कमी ल्याउन पहल हुने विश्वास व्यक्त गर्नु भएको छ ।
हालै मात्र तालिबान समूहले गरेका आक्रमणप्रति संकेत गर्दै विशेषदूत खलिलजादले हालैका साताहरुमा आक्रमणका घटनामा वृद्धि भएका र त्यसले शान्ति प्रक्रियालाई नै धरापमा पार्न खोजेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “हामी हाम्रा तर्फबाट भूमिका निर्वाह गर्नेछौं र त्यसको कार्यान्वयनको पूर्ण सक्रियताका साथ अनुगमन गर्नेछौं । यस कार्यमा सहयोग गर्ने हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरुलाई निरन्तरको सहयोग र समर्थनका लागि आभार व्यक्त गर्दछौं ।”
तालिबानका प्रवक्ता मोहम्मद नसिमले ट्वीट गर्दै समूहका प्रमुख वार्ताकार मौलबी अब्दुल हकिमले अमेरिकी विशेषदूत खलिलजाद र जनरल मिलरसँग भेटघाट गर्नु भएको बताउनु भएको छ । कतारको दोहामा भएको भेटवार्तामा उहाँहरुबीच शान्ति सम्झौताको कार्यान्वयनका विषयमा विस्तृत छलफल भएको प्रवक्ता नसिमले जानकारी दिनु भएको छ ।
नेटो सैन्य प्रमुख जेन्सले पनि अमेरिकी विशेषदूतसँग भेटवार्ता गरी अफगानिस्तानको पछिल्लो स्थितिका बारेमा छलफल गरिएको जेम्सले ट्वीट मार्फत जानकारी गराउनु भएको छ । ०००००

Share.

Leave A Reply