कर उठाउने नगरले उठाउँदैन फोहर

0

विर्तामोड, १ कात्तिक ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ तोक्मेडाँडा हटियामा नगरपालिकाले फोहर उठाउन छाडेपछि दिनदिनै बजार दुर्गन्धित बन्दै गएको छ ।
ताप्लेजुङको सदरमुकाम फुङलिङबजारको तोक्मेडाँडामा विगतदेखि नै मङ्गलबार र शनिबार गरी हप्ताको दुई दिन हटिया बजार लाग्दै आएको छ ।
स्थानीय कृषकले उत्पादन गरेको सागसब्जी, भटमासबाट तयार पारिएको किनिमा, स्थानीय दिदीबहिनीले बनाएको जाँडरक्सीका लागि मर्चा साथै स्थानीय उद्यमीहरुको आफ्नो उत्पादन बिक्री गर्ने केन्द्र विन्दु हो, हटिया बजार । तोक्मेडाँडा हटियामा जिल्लाका साना तथा घरेलु उद्योगदेखि गाउँघरका उत्पादन, वनजङ्गलमा पाइने निगुरो, याङबेङ जस्ता अग्र्यानिक वस्तु खरिद बिक्री हुने गर्दछ । गाउँगाउँ उत्पादन गरेको सागसब्जी बिक्री गर्ने प्रमुख थलो हो, हटिया बजार । तर, त्यहाँ फोहोर मैला थुपारिएको दृश्य जो कोहीले सजिलै हेर्न सकिन्छ । फोहरमा बसेर व्यापार व्यवसाय गर्ने नियती बन्दै गएको स्थानीयवासी सुकमाया राईले बताउनुभयो ।
नगरपालिकाले सुनदेखि नुनसम्मको कर उठाउने गरेको भए पनि त्यहाँको फोहोर उठाउने गरेको छैन । कर तिरेपछि फोहर मैलामा बसेर आफ्नो उत्पादन गरेको सागसब्जी बिक्री गर्नुपर्दा आफँैले नमज्जा लागेको अर्का किसान निर्मला राईको भनाइ छ । क्रेता तथा बिक्रेता भेट हुने प्रमुख केन्द्र हटिया भएकाले यहाँको फोहोर उठाउन सरोकारवालाले ध्यान दिनुपर्ने हटियामा किनमेल गर्नआएका तेज भट्टराईले बताउनुभयो ।
बजारबाट निस्किएको फोहर मैलालाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर ठाउँ—ठाउँमा डस्टबिन राख्नुपर्ने माग स्थानीवासीको छ । बजारमा फोहर मैला त हुने नै भो तर नगरले प्रत्येक बिक्रेताबाट १० देखि एक सय रुपैयाँसम्म दैनिक कर उठाउँदै आएकाले फोहर मैला व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने ज्ञानेद्र पौडेलको भनाइ छ ।
फुङलिङ नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ मा पाँच लाख ५१ हजार रुपैयाँ तथा चालु आर्थिक वर्षमा दुई लाख ५१ हजार रुपैयाँमा राजकुमार तामाङलाई हटियाको ठेक्का दिएको छ । हटिया बजारमा मात्र होइन, फुङलिङ बजारमै पनि फोहर मैला व्यवस्थापन हुन सकेको छैन । तोक्मेडाँडा बसपार्कदेखि लिएर विभिन्न चोकमा साथै ढलहरुमा फोहर मैला भरिएको छ । फुङलिङ नगरपालिकाभित्र डस्टबिन राखेको छैन । ०००००

Share.

Leave A Reply