दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीको निर्देशन

0

विर्तामोड, १ कात्तिक ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिनु भएको छ । उहाँले आज सरकारी निवास बालुवाटारमा बोलाएर कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताउनु भएको हो ।
‘तपाईँहरुले हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउँछौं’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सहभागी एक नेताले भनेका छन् ।
उनका अनुसार, ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताउनु भएको थियो ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार जानु भएन् । कर्णालीका दुवै पक्षका नेताहरुसँग कुरा गरिसकेकाले बालुवाटार नआउने सन्देश पठाउनु भएको थियो । प्रचण्डले बिहीबार र शुक्रबार दुई पक्षका नेताहरुलाई बोलाएर कुरा सुन्नु भएको थियो भने बरिष्ठ नेता माधवकुमार नेपालले पनि कर्णालीका नेताहरुबाट जानकारी लिनु भएको छ ।
यस्तै कर्णालीका इन्चार्ज जनार्दन शर्मा भने स्वास्थ्यमा समस्या भएकाले आउन नसक्ने जानकारी पठाउनु भएको थियो ।
बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
‘सबैको कुरा सुनेपछि प्रधानमन्त्रीले अब तपाईँहरु कर्णालीतिरै फर्कनुहोस् । हामी चाँडै निर्णय सुनाउँछौं भन्नुभयो’, ती नेताले भनेका छन् ।
नेकपा संसदीय दलका नेता शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद छताछुल्ल भएको थियो । तर, माधवकुमार नेपाल खेमाका नेताहरु अविश्वासको प्रस्तावबाट पछि हटेपछि शाहीको मुख्यमन्त्री पद भने जोगिसकेको छ । नेपाल समूहलाई थप तीन मन्त्री दिने मुख्यमन्त्री शाहीले सहमति जनाउनु भएको छ भने कर्मराज शाहीलाई सचेतक नियुक्त गर्नु भएको छ । ००००००

Share.

Leave A Reply