स्थानीय कृषकका उत्पादनसमेत सहकारीले किनिदिएर बजारीकरण गर्न मेयर रानाको आग्रह

0

विर्तामोड, २ कात्तिक ।


नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको चौथो व्यवसाय एनएमसी कोपसपको सातौं पसल आजदेखि अर्जुनधारा नगरपालिकाको खुदुनाबारी बजारमा सुरु गरिएको छ ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले कोपसप मार्टको मुख्यद्वारमा टाँगिएको रिवन काटेर पसलको उद्घाटन गर्नुभयो । कोपसपको उद्घाटन गर्दै नगरप्रमुख रानाले डेढ वर्षको अन्तरालमा एनएमसीले अर्जुनधारालाई दुई वटा अमूल्य रत्न दिएको र दुवैको उद्घाटन आफैंले गर्ने अवसर पाएकोमा आभार व्यक्त गर्नुभयो । २०७६ जेठ १५ गते शनिश्चरेमा खोलिएको पहिलो एनएमसी सहकारी पसलको नगरप्रमुख रानाले नै उद्घाटन गर्नु भएको थियो ।
स्थानीय कृषकका उत्पादनसमेत सहकारीले किनिदिएर बजारीकरणमा सहयोग गरेमा नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउँदै नगरप्रमुख रानाले सहकारीले सञ्चालन गर्ने पसलहरु औधोगिक उत्पादनले मात्र भरिन नहुने प्रष्ट पार्नुभयो । सहकारी ऐनमा धेरै वटा सहकारी मिलेर उद्योग खोल्नसक्ने प्रावधान भएकाले नगरभित्रका सहकारीहरुको एकतावद्ध प्रयास भएमा स्थानीय उत्पादनहरुले बजारीकरणमा मौका पाउने नगरप्रमुख रानाको भनाई छ ।
संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले विभिन्न बजार क्षेत्रमा एनएमसी कोपसपको विस्तारका विषयमा चर्चा गर्दै जहाँजहाँ यस्ता मार्ट खुलेका छन्, त्यहाँका उपभोक्तालाई न्याय हुन थालेको दाबी गर्नुभयो । औधोगिक वस्तुहरु बेचेर नाफा कमाउनेभन्दा स्थानीय उत्पादनको बजारीकरणमा एनएमसी कोपसपको ध्यान जाने जानकारी गराउँदै अध्यक्ष उप्रेतीले दाल, तिल, मरिच, चिया, मह आदि जे वस्तुहरु उत्पादन गरिन्छन्, त्यहाँबाट बेच्ने व्यवस्था मिलाइने प्रष्ट पार्नुभयो ।
एनएमसीका पाँचवटै व्यवसायको संक्षिप्त परिचय गराउँदै अध्यक्ष उप्रेतीले संस्थाको प्रकृति बहुउद्देश्यीय भएकाले २०७२ सालदेखि बहुव्यवसायमा जोडिएको जानकारी गराउनुभयो ।
एनएमसीका सञ्चालक सदस्य तथा अर्जुनधारा क्षेत्रीय संयोजक कमलप्रसाद गुरागाईंको अध्यक्षतामा खुदुनाबारी कार्यालय प्रमुख मानबहादुर बुढाथोकीले एनएमसी कोपसप उद्घाटन समारोहको सञ्चालन गर्नु भएको थियो । ०००००

Share.

Leave A Reply