एकैदिन ६ अर्ब रुपैयाँ भन्दाबढीको कारोबारसँगै शेयर बजारमा नयाँ रेकर्ड

0

विर्तामोड, ४ मंसिर ।

शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन ६ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
यसअघि एकैदिन चार अर्ब ८५ करोड रुपैयाँको कारोबारको रेकर्ड तोड्दै आज ६ अर्ब ११ करोड ६७ लाख रुपैयाँ बराबरका एक करोड ४० लाख कित्ता शेयर किनबेच भएको हो ।
कारोबार रकमसँगै नेप्से परिसूचक पनि बुधबारको तुलनामा ३६ दशमलव ३२ अङ्कले बढेको छ । आज परिसूचक बढेर १७ सय ७८ दशमलव १२ अङ्कमा पुगेको नेप्सेले जनाएको छ । यो बुधबारको तुलनामा २ दशमलव ०८ प्रतिशत धेरै हो ।
आज कारोबार भएका सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक ३ सय ९९ दशमलव १६ र जीवन बीमा समूहको उपसूचक ३७६ दशमलव १५ अङ्कले बढेको छ । यस्तै होटल समूहको १९८ दशमलव ५३, विकास बैंक समूहको २८ दशमलव ९९, जलविद्युत् समूहको २१ दशमलव ६३, अन्य समूहको ५८ दशमलव १५ र माइक्रो फाइनान्स समूहको ४६ दशमलव ३८ अङ्कले बढेको छ ।
नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको आज सबैभन्दा धेरै ४१ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । त्यस्तै हिमालय डिस्टिलरी लिमिटेडको २७ करोड सात लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २६ करोड १२ लाख रुपैयाँ, नेशनल लाइफ कम्पनी लिमिटेडको १८ करोड ४३ लाख रुपैयाँ र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७ करोड ३१ लाख रुपैयाँ बराबरका सेयर कारोबार भएको छ । ०००००

Share.

Leave A Reply