चुनावमा भोट मागे जसैगरी कोभिड–१९ विरुद्धको जनचेतनामा जुट्न सुझाव

0

विर्तामोड, ६ मंसिर ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्वाचनका बेलाजस्तै जनताका घरदैलामा पुगेर कोभिड–१९ विरुद्धको जनचेतनाको अभियानमा जुट्न सुझाव दिनुभएको छ ।
राष्ट्रियसभाको संयोजन र विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा वाग्मती प्रदेशका सांसदका लागि आज आयोजित ‘कोभिड–१९ महामारी जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदको भूमिका’ विषयको कार्यक्रममा उहाँले चिकित्सकलाई मात्र जिम्मेवारी दिएर सङ्क्रमण नहट्ने हुँदा यो अभियानमा एकाकार हुन जनप्रतिनिधिलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, “चुनावमा भोट माग्न गरिएझैँ कोरोनाबाट बच्नका लागि भौतिक दूरी कायम गर्न, स्यानिटाइजर गर्न तथा मास्कको प्रयोग गर्न जनप्रतिनिधिले गाउँगाउँ पुगेर जनतालाई दुई हात जोडेर जनचेतनाका लागि अनुरोध गर्नुपर्छ ।”
सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनचेतना अभिवृद्धि गर्ने तथा नीति निर्माण गर्ने र कार्यान्वयन गर्ने सबै तहलाई एउटै ठाउँमा भेला गरेर गरिने यस्ता जनचेतनामूलक कार्यक्रम महामारी नियन्त्रणका लागि निकै फलदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना संसारकै लागि नयाँ भएकाले यसका विरुद्ध लड्दै, जानकारी हासिल गर्दै यसका प्रभावबाट पाठ सिकेर अघि बढ्ने प्रयास भइ्हेको छ । सामथ्र्यका आधारमा समस्या समाधान गर्न युद्धस्तरमा सरकारले काम गरिरहेको छ । उपचार र बिरामीप्रति सरकार उत्तिकै जिम्मेवार छ ।”
वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कोरोनाको महामारी रोक्न साझा अभियान र कार्ययोजनाका प्रभावकारी टोली बनाएर काम गर्न आवश्यक रहेको बताउनुभयो । नेपालस्थित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि राजेश पाण्डभले कोरोनाले निम्त्याएको चुनौतीलाई निस्तेज तुल्याउन मास्क र स्यानिटाइजरको प्रयोग तथा भौतिक दूरी कायम गर्ने कुरामा जनतालाई सुसूचित गर्न जनप्रतिनिधिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।
सो अवसरमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम, नेपालस्थित विश्व स्वास्थ्य सङ्गठनका विशेषज्ञ चिकित्सकत्रय सुनोर बर्मा, विनोद गुप्ता र दीपेन्द्र गौतमले जुन देशका जनप्रतिनिधि कोरोनाविरुद्धको प्रतिकार्यमा जुटेका छन् तत्तत् देशमा महामारीको जोखिम निकै कम रहेकाले निर्वाचनका बेला जस्तै जनचेतना अभियानमा जुट्न सुझाव दिनुभयो ।
राजनीतिक दलका नेता तथा कार्यकर्ता कोरोनाविरुद्ध भौतिक दूरी कायम गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने तथा मास्क लगाउनु पर्नाको आवश्यकता र औचित्यबारे जनचेतनाका कार्यक्रम लिएर गाउँगाउँ नपुगेसम्म कोरोनालाई परास्त गर्न कठिन हुने उहाँहरुको सुझाव थियो । कोरोनाको स्वरुप परिवर्तनशील रहेको हुँदा घरमै बस्दा पनि खोक्दा, बोल्दा र हाच्छिउँ गर्दा अनिवार्य मास्कको प्रयोग हुन जरुरी रहेको बताउँदै चिकित्सकले कोभिड नियन्त्रण सम्बन्धी हालसम्म कुनै परपर्दो औषधि पत्ता नलागेका कारण विज्ञान र चिकित्सकको विश्वास आमजनतामा घटेको उल्लेख गर्नुभयो । ००००००

Share.

Leave A Reply