मेचीनगरका युवाहरुलाई : कोरोना कहर, एउटा अवसर

0

विर्तामोड, ६ मंसिर ।

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका कारणले धेरैले आर्थिक संकट खेप्नु पर्यो, व्यापार व्यवसाय चौपट भयो, घरभाडादेखि बैंकको ब्याज समेत तिर्न सकेनन् । व्यवसायीहरुले मात्र होइन्, धेरैले आफ्नो रोजगारी समेत गुमाए तर मेचीनगरका युवाहरुलाई भने कोरोना कहर एउटा अवसर बनेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.३ स्थित बडागाउँमा १३ जना युवाले डेढ करोडको लागतमा निन्दा रिभरल्यान्ड कल्चरल होमस्टे एण्ड एग्रो फार्म सञ्चालनमा ल्याएका छन् ।
निन्दा किनारमा १२ बिघा जमिन भाडामा लिएर उनीहरूले व्यावसायिक रूपमै माछापालन, हाँसपालन तथा तरकारी खेती सुरु गरेका छन् । फार्ममा मौसमी तथा बेमौसमी तरकारीहरु सिमि, बोडी, काँक्रा, फर्सी, करेला, लौका, मुला, धनिया, गाँजर लगायतका सागसब्जीहरुको उत्पादन सुरु गरिएको फार्मका अध्यक्ष जितेश योञ्जनले बताउनुभयो । करिब दुई महिना अगाडिबाट सुरु गरिएको उक्त फार्ममा ६ हेक्टर क्षेत्रफलमा पोखरी निर्माण गरी ५० हजार माछाका भुरासमेत लगाई सकिएको फार्मका कोषाध्यक्ष योगराज भट्टराई (योगेश)ले जानकारी दिनुभयो ।
कृषिमा क्रान्ति गर्ने उद्देश्यले तरकारी खेती, माछापालन सुरु गर्नुका साथै पर्यटकलाई आर्कषण गर्न सिमसारसहितको सुविधा सम्पन्न होमस्टे निर्माण गर्ने लक्ष्यका साथ अघि बढिएको भट्टराईले बताउनुभयो ।
‘कोरोना भाइरस संक्रमणका कारणले सरकारले गत चैत महिनाबाट सिमा नाका बन्द गरेको छ । भारतका तरकारी र माछामा निर्भर भएका हामी नेपाली महँगो मूल्यमा तरकारी किनेर खान बाध्य छौं । हामीले आफनो स्थानमा पनि केही गर्न सकिन्छ भन्ने सोचले व्यवसाय सुरु गरेका हौं’, भट्टराईले भन्नुभयो, ‘बगरमा तरकारी खेती हुन्छ र भनेर धेरैले हामीलाई प्रश्न गर्नु भयो, तर मेहेनत गर्यो भने सफल हुँदो रहेछ ।’
फार्म सञ्चालनमा आएसँगै स्थानीय ९ जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । सरकारले पनि विदेश पलायन हुन लागेका युवालाई सुलियतमा ऋण उपलब्ध गराएर नेपालमा नै व्यवसाय गर्ने वातारण सिर्जना गरे हरेक नेपालीले विदेशको बाटो रोज्नु पर्दैन । ००००००

Share.

Leave A Reply