आरोप पत्र फिर्ता लिने र बैशाख १७ र २७ को निर्वाचनलाई स्वीकार गरे अझै एकता हुन्छ : उपप्रधानमन्त्री पोखरेल

0

विर्तामोड, २९ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ईश्वर पोखरेलले नेकपा सारमा विभाजन भइसकेको बताउनु भएको छ । कानुनतः विभाजित नभए पनि सारमा विभाजित भइसकेको नेता पोखरेलको भनाई छ ।
नेकपा झापाले आज बिर्तामोडमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले दुई सर्त पुरा भए अझै एकताको सम्भावना रहेको बताउनुभयो । भेलामा उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप पत्र फिर्ता गर्नुपर्ने र बैशाख १७ र २७ को निर्वाचनलाई स्वीकार गरेर आएमा एकता हुन सक्ने धारणा राख्नु भएको छ । पार्टी विभाजनमा प्रचण्डभन्दा धेरै दोष माधव नेपालको रहेको भन्दै नेता पोखरेलले प्रचण्ड विगतदेखि नै ठिक नभएको टिप्पणी गर्नुभयो ।
उहाँले एकताको लागि दुवै पार्टी तयार हुँदै गर्दा एउटै चिन्हमा चुनाव लड्ने सहमति भइसके पछि प्रचण्डले बद्मासी गरेको स्मरण गराउनुभयो । पोखरेलले भन्नुभयो, ‘एउटै चुनाव चिन्हमा चुनावमा जाने सहमति भयो, पछि प्रचण्डले नै आआफ्नै चिन्हमा निर्वाचनमा जाने भनेदेखि उनले पार्टीमा समस्या शुरु गरे ।’ माओवादी पार्टीमा ३३ वर्ष अध्यक्ष भएका प्रचण्डले एकतापछि पनि कम्युनिष्ट आन्दोलनलाई नै सिध्याउने खेल खेलेको आरोप छ ।
भेलालाई सम्बोधनका क्रममा पोखरेलले केपी ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने बताउनु भयो । उहाँले आधिकारिक पार्टीले नै सुर्य चिन्ह पाउने जिकिर गर्नुभयो । उहाँले कार्यकर्तालाई पार्टी आधिकारिकता र सुर्य चिन्हका बारेमा धेरै चिन्ता लिनु नपर्ने बताउनु भएको छ ।
उहाँले माधव नेपाल र प्रचण्डले हास्यास्पद मुद्दाहरु झिकेर पार्टीमा लफडा गरेको बताउनुभयो । बैठकमा ठुला– साना कुर्सीमा बसेका विषयमा चित्त दुखाएर पार्टी फुटाएको नेता पोखरेलको आरोप छ । पार्टी एकतापछि धेरै समय मैले केहि पाइन, मेरो मान्छेले यो पाएन, त्यो पाएन लगायतका मुद्दा झिकेर जग हँसाएको पोखरेलको भनाई छ ।
निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको अवस्थामा प्रचण्ड–नेपालले जनतासँग डराएर चुनाव रोक्न दवाव दिएको नेता पोखरेलले बताउनु भएको छ ।
कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य मणि थापाले अबको राजनीतिक कोर्स बदलिएको हुँदा अबका एजेण्डाहरु समृद्धिका एजेण्डा हुनुपर्ने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको कार्यभारलाई पुरा गर्नेगरी सरकारलाई अगाडि बढाइरहेको अवस्थामा उहाँको विरुद्धमा अस्थिर चरित्र भएका माधव र प्रचण्डले सरकारलाई असहयोग गरेकोले यो अवस्था सिर्जना भएको बताउनुु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले परम्परागत सोचमा रहेको नेपालको राजनीतिलाई माथि उठाउन खोल्नुभएको चर्चा गर्नुहुँदै नेकपाका स्थायी कमिटी सदस्य थापाले भन्नुभयो, ‘केपी शर्मा ओलीले भन्नु भएजस्तै अबको लडाई समृद्धि र सभ्यताको हो ।’
अहिले प्रचण्डले नेतृत्व गर्नुभएको समूहभित्र रहनुभएका माओवादी कमरेडहरु उहाँको साथ छोडेर आउने थापाको दाबी छ । उहाँले भन्नुभयो, ‘धेरै समय लाग्दैन, ६ महिनाभित्रै हो ।
पार्टीका कार्यालय सचिव रहनु भएका सचिवालय सदस्य शिव ढुङ्गेलले सञ्चालन गर्नु भएको कार्यक्रममा नेकपाका प्रदेश अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य मीना उप्रेती लगायतले बोल्नु भएको थियो । ००००००

Share.

Leave A Reply