परापूर्वकालदेखि झापाको माईमा लाग्दै आएको माईमेला पहिलो पटक लागेन

0

विर्तामोड, १ माघ ।

परापूर्वकालदेखि झापाको माईमा लाग्दै आएको माईमेला इतिहासमा पहिलो पटक लागेन । माओवादी युद्धका बेला पनि निरन्तर लागेको मेला आज रोकिएको हो । हरेक वर्ष माघ १ गते शिवसताक्षीको माईधार र कन्काई नगरपालिकाको कोटीहोम क्षेत्रमा भव्य मेला लाग्ने गरेको थियो ।
माईमा कहिलेदेखि मेला लाग्ने गरेको हो, त्यसको यकिन प्रमाण भने छैन । यो मेला इलामको माईबेनी मेलाको निरन्तरता भएको जानकारहरुले बताएका छन् ।
चार दशक अघिदेखि सो क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्दै आएका हरिप्रसाद गौतमले सो क्षेत्रमा राई समुदायका मानिसले मेला लगाउन सुरु गरेको हुनसक्ने बताउनुभयो । ‘पूर्वमा न्वागी राई समुदायले खाने र मनाउने गरेको पाइन्छ’, गौतम समाज झापा अध्यक्षसमेत रहनु भएका उहाँले भन्नुभयो, ‘त्यस क्षेत्रमा आवादीको सुरुवाती चरणमा राई समुदायका मानिसले जंगल फाडेर बसोबास गरेको देखिन्छ, माई मेलाको सुरुवात पनि त्यही बेलादेखि उनीहरूले नै गरेको हुनुपर्छ ।’
झापाको धार्मिक तथा पर्यटकीय स्थल र सीमाका अनुसन्धानकर्ता तथा इतिहासका जानकार चिन्तामणि दाहालले माईको उत्पत्ति र मानिसको बसोबास सँगसँगै माई मेला सुरु भएको बताउनुभयो । यो मेलाको सम्बन्ध धार्मिक पक्षसँग जोडिएको बताउँदै उहाँले मेलाको सुरुवात कहिले भयो त्यसको ठोस प्रमाण अहिलेसम्म फेला नपरेको जानकारी दिनुभयो ।
पहिला आदिवासी राजवंशी समुदायका मानिसले माघ १ गतेका दिन माईमा सामुहिक रुपमा नुहाउने गरेको र पछि मेलामा रुपान्तरण भएको दाहालको तर्क छ । माई मेलाको सुरुवात प्रकृतिपुजकहरुले गरेको जानकारहरुको तर्क छ ।
मेची क्याम्पसका पूर्वक्याम्पस प्रमुखसमेत रहेका दाहालले व्यवस्थित रुपमा २०१७ सालदेखि मेला सुरु भएको बताउनु भएको छ । त्यसबेला जिल्ला पञ्चायतले मेला व्यवस्थापन समिति गठन गरेर तत्कालीन सुरुङ्गा गाउँ पञ्चायतलाई रेखदेखको जिम्मेवारी दिने गरेको लिखित प्रमाण रहेको दाहालले जानकारी दिनुभयो ।
कोरोना संक्रमण जोखिम हुने भन्दै जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष माई मेला संचालन नगर्न र नगराउन निर्देशन दिएपछि मेला नलागेको हो ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सूचना निकालेर कोरोना संक्रमणको जोखिम विद्यमान रहेको भन्दै मेलामा अत्याधिक भीडभाड हुने र त्यसबाट संक्रमण फैलनसक्ने उच्च जोखिम रहेकाले सो निर्णय गरिएको जानकारी दिनुभयो ।
कनकाई नदी पूर्व कनकाई नगरपालिका र पश्चिम शिवसताक्षी नगरपालिकामा माई मेला लाग्ने गरेको छ । ती दुवै नगरपालिकाले आ–आफ्ना निर्णय जिल्ला प्रशासन कार्यालयमा पठाएका थिए । कनकाई नगरपालिकाले पुस २४ र शिवसताक्षी नगरपालिकाले पुस २६ गते आफ्नो निर्णय जिल्ला प्रशासन कार्यालयमा पठाएका थिए । त्यही निर्णयलाई आधार मानेर जिल्ला प्रशासनले मेला नलगाउने निर्णय गरेको हो ।
हरेक वर्ष माघे संक्रान्तिको अवसरमा तीन दिनसम्म कनकाई नदीको किनारमा माई मेला लाग्ने गरेको थियो ।
प्रदेशकै ठूलो मेलाको रुपमा चिनिएको माई मेला कोरोना संक्रमणको जोखिमले यस वर्ष नलगाउने निर्णय गरेको शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईले बताउनुभयो । उहाँले मकर नुहाउन आउने मानिसलाई भने खुल्ला गरिएको जानकारी दिनुभयो ।
धार्मिक क्षेत्रमा दैनिक रुपमा बस्ने पुजा सामग्रीको पसलबाहेक पिङ, होटल तथा अन्य सामग्रीका पसल सञ्चालन गरी भीडभाड गर्न नदिइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
कन्काई नगरपालिकाका कार्यकारी अधिकृत मोहनप्रसाद न्यौपानेले मेला नलगाउने निर्णय गरेको बताउनुभयो । नुहाउने र पूजाआजा गर्नेलाई भने रोक नलगाइएको न्यौपानेले जानकारी दिनुभयो ।
माघ १ गते माघे संक्रान्तिका दिन कनकाई नदीमा स्नान गरेर तिलको लड्डुु, तरुल खाएमा पापबाट मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ । ००००००

Share.

Leave A Reply