प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

0

पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध आएको निवेदन भने दर्ता भएन ।

विर्तामोड, १३ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा आज अवहेलना मुद्दा दर्ता भएको छ । अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजेको र कानुन व्यवसायीहरूको मानमर्दन गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा दुई जना अधिवक्ताले निवेदन दिएका थिए ।
अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले पेस गरेको निवेदन आज दर्ता भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभयो । निवेदनमा प्रधानमन्त्री ओलीले पार्टी कार्यकर्ता भेलामा कानुन व्यवसायी र अधिवक्ताहरूमाथि गरेको टीकाटिप्पणीले अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।
सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनको मुद्दामा बहस पैरवी गरिरहेका कानुन व्यवसायीमाथि व्यङ्ग्य गरेपछि प्रधानमन्त्रीको अहिले चौतर्फी आलोचना भइरहेको छ । अदालतको अवहेलनाको आरोप ठहर भए एक वर्ष कैद सजाय वा १० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।
यसैबीच, पूर्वसभामुख दमननाथ ढुङ्गानाविरुद्ध पनि अवहेलनको मुद्दा दर्ता भएको छ । पूर्वसभामुख ढुङ्गानाले प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा अदालतले सदर गरिदिए अदालतबाटै न्यायाधीशहरूलाई थुत्न सक्ने अवस्था आउने अभिव्यक्ति दिनुभएको थियो । यही अभिव्यक्तिका आधारमा ढुङ्गानाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो ।
आज नै पूर्वप्रधानन्यायाधीशहरूविरुद्ध आएको निवेदन भने दर्ता भएन । प्रक्रिया पूरा नभइ निवेदन आएकाले दर्ता नगरिएको र भोलि यो विषयमा टुङ्गो लाग्ने सञ्चार विज्ञ पौडेलले जानकारी दिनुभयो । ००००००

Share.

Leave A Reply