दाहाल–नेपालले अनैतिक र अलोकतान्त्रिक कार्य गरिरहेका छन् : उपप्रधानमन्त्री पोखरेल

0

विर्तामोड, १३ माघ ।

उपप्रधानमन्त्री इश्वर पोखरेलले पुष्पकमल दाहाल र माधव नेपालले अनैतिक र अलोकतान्त्रिक कार्य गरिरहेको आरोप लगाउनु भएको छ ।
नेकपा ओली पक्षद्वारा आयोजित कार्यकर्ता भेलालाई आज सप्तरीको राजविराजमा सम्बोधन गर्दै पोखरेलले भन्नुभयो, ‘केपी ओलीको नाम लिएर मत लिने अनि दुई वर्ष नबित्दै ओलीलाई हटाउन धक्का दिन थाल्ने, यो अनैतिक र अलोकतान्त्रिक कार्य हो ।’
निर्वाचन आयोगको फैसला नेकपाको फुटविरुद्ध रहेकाले प्रधानमन्त्री ओलीमाथिको आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जाने स्वीकारोक्तिसहित पार्टीमा फर्किन दाहाल र नेपाललाई उहाँले आग्रह गर्नुभयो । ‘कान खोलेर सुन्नुस् प्रचण्डजी,’ नेता पोखरेलले भन्नुभयो, ‘केपी ओलीको हस्ताक्षरवाट मात्र टिकट वितरण हुने भएकाले निर्वाचनमा जाने स्वीकारोक्ति र ओलीमाथि अगाउनु भएको आरोप फिर्ता लिई निर्वाचन लडन आउनुस् ।’ महाधिवेशनसम्म सहमतिमै जाने निर्णय हुँदा समेत सहमति विपरित प्रचण्ड र नेपालले पार्टी फुटाउन खोजेको उहाँले आरोप लगाउनुभयो ।
‘जनता न्यायाधीश हुन्, जनताको बीचमा गएर जनादेश लिन के को अप्ठ्यारो’, पोखरेलले भन्नुभयो, ‘केपी ओलीलाई अनैतिक र अलोकतान्त्रिक तरिकाले धक्का दिएर पार्टी अध्यक्षबाट हटाउने षडयन्त्र सफल हुन दिँदैनौं ।’ ‘चोक चौतारीमा बसेर माधव नेपाललाई अध्यक्ष बनाउने कार्य निर्वाचन आयोगले अस्वीकार गरेको छ,’ पोखरेलले भन्नुभयो, ‘दाहाल – नेपालको हरेक षड्यन्त्रलाई असफल पार्छौं ।’
सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको पार्टीसँग मात्र रहने बताउँदै उपप्रधानमन्त्री पोखरेलले दाहाल र नेपाललाई लक्षित गरी भन्नुभयो, ‘चित्त नबुझे अलग भएर नक्कली सक्कली, आइतबार सोमबार जुन पार्टी बनाउनु छ बनाउनु ।’ प्रचण्डजीलाई चाडो चाडो प्रधानमन्त्री बन्ने लालसा रहेको भन्दै उहाँले आफ्नो मान्छेलाई मन्त्री र राजनीतिक नियुक्ति गराउनु मात्र उहाँको उद्देश्य रहेको बताउनु भएको छ ।
कार्यक्रममा सहरी विकास मन्त्री प्रभु साहले दाहाल जनमुक्ति सेनाको रकम लुट्ने लुटेरा भएको आरोप लगाउनुभयो । ‘जनमुक्ति सेनाको बलमा प्रचण्डले उचाइ प्राप्त गरे, तर त्यही सेनाको पैसा लुटे,’ साहले भन्नुभयो, ‘माओवादीको विरासत प्रचण्डले बेचे ।’
वर्तमान सरकारले जनमुक्ति सेनालाई सम्मान र स्वास्थ्य उपचारका लागि आवश्यक निर्णय गरेको बताउँदै साहले भन्नुभयो, ‘सत्ता र स्वार्थका लागि प्रचण्डले एक एक गरी माओवादीका मुद्दा बेचे । प्रचण्ड ३० वर्षदेखि पार्टी अध्यक्ष थिए, उनमा पदको लत लागेको छ ।’ पद बिना एक मिनेट पनि बाहिर बस्न नसक्ने दाहालको बानी रहेको मन्त्री साहले दाबी गर्नुभयो । माधव नेपाल पनि सत्ता र पदको भोको भएको उहाँले आरोप लगाउनुभयो । ००००००

Share.

Leave A Reply