४९ वटा लघुवित्त कम्पनीको वित्तीय विवरण सार्वजानिक

0

विर्तामोड, ९ फागुन ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ४९ वटा लघुवित्त कम्पनीले वित्तीय विवरण सार्वजानिक गरेका छन् । लघुवित्त कम्पनीहरुले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार छिमेक लघुवित्तले सबैभन्दा धेरै नाफा कमाएको छ ।
कोभिडको असरका कारण यो अवधिमा लघुवित्त कम्पनीहरुको खराब कर्जा बढेको देखिएको छ भने खुद नाफामा भने खासै ठुलो असर देखिदैन ।
यो अवधिमा चुक्ता पूँजीको आधारमा छिमेक लघुवित्त सबैभन्दा अग्र स्थानमा देखिएको छ । दोस्रो त्रैमाससम्मा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ । यता घोडिघोडा लघुवित्तको चुक्ता पूँजी भने सबैभन्दा थोरै २ करोड ७६ लाख रुपैयाँ रहेको छ ।
जगेडा कोषको आधारमा निर्धन उत्थान लघुवित्त सबैभन्दा अगाडि देखिएको छ । पुस मसान्तसम्मा उसको जगेडामा २ अर्ब ८८ करोड रुपैयाँ सञ्चित छ । जुन लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो । यता घोडिघोडा लघुवित्तको जगेडा कोष भने १९ लाख ६२ हजार रुपैयाँले ऋणत्मक रहेको छ ।
निक्षेप संकलन र कर्जा लगानीको आधारमा पनि छिमेक लघुवित्त सबैभन्दा अग्र स्थानमा देखिएको छ । समीक्षा अवधिमा उसले २० अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
यस्तै निक्षेप र कर्जा लगानी दुबैमा घोडिघोडा लघुवित्त पछाडि रहेको छ । यो अवधिमा उसले ४ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३४ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
पुस मसान्तसम्ममा निर्धन उत्थान लघुवित्तले सबैभन्दा धेरै खुद ब्याज आम्दानी गरेको छ । यस अवधिमा उसले १ अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो । यो अवधिमा घोडिघोडा लघुवित्तको खुद ब्याज आम्दानी सबैभन्दा कम ९४ लाख रुपैयाँ रहेको छ ।
सञ्चालन नाफामा भने छिमेक लघुवित्त नै अगाडि देखिएको छ । यो अवधिमा उसले १ अर्ब ३४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
लघुवित्त वित्तीय संस्थाहरुमध्ये छिमेक लघुवित्त सबैभन्दा धेरै नाफा कमाउने लघुवित्त वित्तीय संस्था बनेको छ । यो अवधिमा उसले कुल ६१ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो ।
धेरै नाफा कमाउने दोस्रो स्थानमा डिप्रोक्स लघुवित्त रहेको छ भने तेस्रो चौथो र पाँचौ स्थानमा क्रमश फस्ट माइक्रो, कालिका लघुवित्त र नेरुडे लघुवित्त रहेका छन् ।
सबैभन्दा कम नाफा कमाउने लघुवित्तमा भने घोडिघोडा लघुवित्त परेको छ उसले चालु आर्थिक वर्षको ६ महिनामा १६ लाख ३५ हजार रुपैयाँ खुद नाफा गरेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा छिमेक लघुवित्तले ६१ करोड ५४ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । यो लघुवित्त कम्पनीहरुमध्येकै धेरै हो । त्यस्तै घोडिघोडा लघुवित्तको वितरणयोग्य नाफा सबैभन्दा कम १६ लाख ३५ हजार रुपैयाँ रहेको छ । ०००००००

Share.

Leave A Reply