सत्ता पक्षको उपस्थिति विनै प्रदेश १ का मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेस

0

विर्तामोड, ९ फागुन ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आज बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुभएको हो ।
मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेस भएको नेकपा प्रचण्ड समूहले जनाएको छ ।
नेकपाको संस्थापन समूहले नेकपा राजनीतिक रूपमा फुटे पनि कानुनी रूपमा नफुटेको भन्दै अविश्वासको प्रस्तावको वैधानिकताबारे प्रश्न गर्दै आएको छ ।
आज पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर अविश्वासको प्रस्ताव वैधानिक नभएको स्मरण गराउनुभएको थियो । तर, सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सरकार तथा संस्थापन पक्षका सांसदको उपस्थिति विनै बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न अनुमति दिनुभएको हो ।
अविश्वास प्रस्ताव पेस हुनेबित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले बैठक आउँदो २० गतेसम्मका लागि स्थगित गर्नुभएको छ । अविश्वासको प्रस्तावमाथि फागुन २० गतेदेखि छलफल हुने बताइएको छ । ००००००

Share.

Leave A Reply