इरानका परमाणु केन्द्रहरुमा संयुक्त राष्ट्रसंघीय अनुगमनकर्ताहरुको पहुँच सीमित हुने

0

विर्तामोड, १० फागुन ।

इरानले संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरुलाई आफ्नो परमाणु केन्द्रहरुमा अनुगमनका लागि थप तीन महिना पहुँच दिने भएको छ । संयुक्त राष्ट्रसंघका अनुसार इरान राष्ट्रसंघीय अनुगमन निकायका अधिकारीहरुलाई थप तीन महिना परमाणु केन्द्रहरुमा निगरानीका लागि स्वीकृति दिने भएको हो ।
तर, हतारोमा भएको सम्झौता अनुसार संयुक्त राष्ट्रसंघीय अनुगमन निकाय आइएइएका अधिकारीहरुले इरानका परमाणु केन्द्रहरुमा पाउँदै आएको पहुँच भने सीमित भएको छ ।
इरानले भोलिदेखि आफ्ना परमाणु केन्द्रहरुमा अनुगमनकर्ताहरुको पहुँच सम्बन्धी नीति परिवर्तन गर्दैछ । सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिकालाई बाहिर निकालेपछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आर्थिक प्रतिबन्ध फुकुवा नभएको भन्दै इरानले नीति परिवर्तन गर्न लागेको हो ।
सीमित तर अनुगमनको पहुँच कायम रहने भएपछि अमेरिका र इरानबीच परमाणु सम्झौतालाई पुनः जीवित गर्ने विकल्पहरुबारे छलफल गर्न केही समय मिलेको छ । ट्रम्प प्रशासनले इरानमाथि पुनः प्रतिबन्ध लगाएपछि इरानले पनि आफ्नो परमाणु कार्यक्रमलाई सक्रिय बनाएको थियो । हाल इरानले संयुक्त राष्ट्रसंघले निर्धारण गरेको सीमा भन्दा बाहिर गएर परमाणु कार्यक्रम गरिरहेको छ ।
अमेरिका पूर्ण रुपमा सन् २०१५ को सम्झौतामा प्रतिबद्ध नभएसम्म परमाणु कार्यक्रम नरोक्ने इरानले बताएको छ । तर, अमेरिकी राष्ट्रपति जो बाइडेनले भने इरानले पहिले परमाणु कार्यक्रम रोक्नु पर्ने बताएका छन् ।
इरानको परमाणु गतिविधि पछिल्लो २० वर्षदेखि अन्तर्राष्ट्रिय एजेण्डा बन्दै आएको छ । तर अहिलेसम्म समाधानको मार्ग देखिएको छैन । सन् २०१५ को सम्झौतालाई त्यसका लागि अति महत्वपूर्ण ठानिएको थियो ।
सो सम्झौता अनुसार आइएइएका अनुगमनकर्ताहरुलाई परमाणु केन्द्रहरुमा निरीक्षणका लागि पहुँच स्थापित भएको थियो ।
तर, इरानले भोलिदेखि कुनै पनि समयमा निरीक्षणकर्ताहरुले अनुगमन रोक्नु पर्ने नियम लागु गर्दै छ । पहुँच सीमित गर्ने भए पनि तीन महिनाका लागि अनुगमनको पहुँच भने रहने गरी सहमति भएको आइएइएले जनाएको छ । ००००००

Share.

Leave A Reply