मुख्यमन्त्री राई र पौडेलको कुर्सी धरापमा, कांग्रेस अनिर्णीत

0

विर्तामोड, १० फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित छ । र, यसको प्रत्यक्ष असर यतिबेला प्रदेश सरकारमा देखिइसकेको छ ।
नेकपा प्रचण्ड समूहले प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्रीविरुद्ध एकपछि अर्को गर्दै अविश्वास प्रस्ताव दर्ता गराइरहेको छ ।
लामो रस्साकस्सीपछि प्रदेश १ का मुख्यमन्त्री शेरधर राईविरुद्ध अविश्वासको प्रस्ताव आइतबार संसदमा टेबुल भएको छ । प्रचण्ड पक्षका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले अविश्वास प्रस्ताव पेस गर्नुभयो । प्रस्ताव पेश भए पनि सरकार पक्षबाट नै बैठक बहिष्कार भएपछि प्रस्तावमाथि छलफल हुन सकेन ।
अविश्वास प्रस्तावमाथि छलफल गर्न अब प्रदेशसभाको अर्को बैठक फागुन २० गते बस्ने बताइएको छ । यसअघि बैठक स्थगित गर्न मुख्यमन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई पत्र दिनु भएको थियो । पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये ५ जनाले प्रस्ताव फिर्ता लिएका छन् ।
यस्तै, प्रधानमन्त्री ओली निकटका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । पुस १० गते दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गराउन तोकिएको प्रदेशसभाको बैठक पटक पटक स्थगित हुँदै आएको छ ।
७ प्रदेशमध्ये ६ प्रदेशमा नेकपा नेतृत्वको सरकार छ । ६ प्रदेशमध्ये ४ मा पूर्व एमाले र २ प्रदेशमा पूर्व माओवादीका पक्षका मुख्यमन्त्री छन् । पूर्व एमालेभित्र पनि प्रधानमन्त्री ओली पक्षका मुख्यमन्त्रीको पद धरापमा परेको छ । सुदूरपश्चिम र कर्णालीका प्रचण्ड पक्षीय मुख्यमन्त्री सुरक्षित देखिएका छन् । गण्डकी प्रदेश सरकार पनि पर्ख र हेरको अवस्थामा छ । ७ प्रदेशमध्ये १ प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा विभाजनपछि केही माहोल तातेको भए पनि धेरै समस्या देखिएको छैन ।
गण्डकी प्रदेशमा ओली समूहका पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा दुई तिहाइको सरकार छ । मुख्यमन्त्रीविरुद्ध प्रचण्ड समूह लाग्न थालिसकेको छ ।
कांग्रेस भने कसलाई समर्थन गर्ने भन्ने अन्योलमा देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्ष ओली पक्षसँग सत्ता साझेदारीका लागि तयार भएको छ भने रामचन्द्र पौडेल पक्ष सरकारको विपक्षमा जानु पर्ने अडानमा छ । ००००००

Share.

Leave A Reply