दोभानका आगलागी पीडितलाई प्रतिपरिवार ५० हजार रुपैयाँ दिन्छौं : मुख्यमन्त्री राई

0

बिर्तामोड, २० फागुन ।

ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामग्री उपलब्ध गराएको छ । आज आगलागी बस्तीमा पुगेर मुख्यमन्त्री शेरधन राईले राहत सामग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेज समेत घोषणा गर्नु भएको छ ।
आगलागी पीडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभानबस्तीमा पुगेर बताउनु भएको हो । त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले जानकारी दिनुभयो ।
आगलागी पीडितहरुको अवस्था बुझ्न घटनास्थल पुग्नु भएका मुख्यमन्त्री राईले पीडितहरुको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर समेत उपलब्ध गराउने जानकारी दिनुभयो । मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताउनुभयो ।
प्रदेश सरकारका तर्फबाट तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामग्री मुख्यमन्त्री राईले पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो ।
आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ । मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, प्रदेश सभा सदस्य टंक आङबुहाङ, प्रतापप्रकाश हाङगाम लगायत आगलागी बस्ती पुग्नु भएको हो । ००००००

Share.

Leave A Reply