वृद्धभत्ता केही समयमा ५ हजार पुर्याउँछौं : प्रधानमन्त्री ओली

0

बिर्तामोड, २० फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०५१ सालबाट एक सय रुपैयाँमा सुरु गरेको वृद्धभत्ता केही समयमा ५ हजार पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
सुनकोशी–मरिन डाइभर्सन केन्द्रको आज सिन्धुलीमा शिलान्यास गर्दै उहाँले भन्नुभयो, ‘हामीले २०५१ सालबाट वृद्धभत्ता एक सयबाट सुरु गरेका थियौँ । अहिले तीन हजार पुगेको छ । केही समयमै ५ हजार रुपैयाँ पुर्याउछौँ ।’
उहाँले वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीका अनुसार लक्षित वर्गलाई १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा समेत गरिएको छ ।
देशको राजनीतिक अवस्थालाई लिएर प्रचण्ड समुहलाई लक्षित गर्दै उहाँले पिलो निचोरिँदैमा ओजन नघट्ने बताउनुभयो । अहिलको कम्युनिस्ट आन्दोलन देश समृद्ध बनाउनेतर्फ केन्द्रित भएको उहाँको भनाई थियो ।
आर्थिक वर्ष २०७७÷७८ का लागि सरकारले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि दुई अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय गौरवको यो आयोजना मुख्यरूपमा सिँचाइमा केन्द्रित छ । पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।
यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियानको रूपमा व्याख्या गरिँदै आएको छ । बागमती प्रदेशको जलस्रोतलाई प्रदेश २ मा पु¥याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने सरकारको दाबी छ । करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ । यो आयोजनाका लागि सुनकोशीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।
तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ । मरिनको पानी वागमतीमा पुग्नेछ र वागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउन सकिनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल वागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ । मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । ००००००

Share.

Leave A Reply