तीन पटकसम्म बैठकमा नआए निस्काशन गर्ने माधव नेपाललाई खिमलाल भट्टराईको चेतावनी

0

विर्तामोड, २४ फागुन ।

केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेका नेता खिमलाल भट्टराईले आफ्नो पार्टीको केन्द्रीय कमिटी बैठकमा तीन पटकसम्म उपस्थित नभए माधवकुमार नेपाल लगायत सांसदलाई निस्काशन गर्ने चेतावनी दिनु भएको छ ।
उहाँले अर्कोतिर लागेका नेता नेपाल लगायत सबैलाई पार्टी कार्यालयले बैठकबारे सूचित गर्ने र उनीहरु आएमा साविककै नेताको हैसियत पाउने नआए कारवाहीमा पर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘हाम्रो विधानले जे व्यवस्था गरेको छ । त्यही अनुसार हामी अघि बढ्नु पर्ने हुन्छ । केन्द्रीय कमिटीका तीन वटा बैठकमा निरन्तर अनुपस्थित भएमा कारवाहीमा पर्नुहुन्छ ।’
उहाँले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक छिट्टै नै बस्ने जानकारी समेत गराउनुभयो । उहाँले कानुनी र राजनीतिक प्रश्न खडा भएकोले संवाद र सहमतिको सम्भावना न्यून रहेको जिकिर गर्नुभयो ।
सर्वोच्च अदालतले आइतबार नेकपा नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र पनि अलगअलग भएको ठहर गरेको थियो ।
सर्वोच्च अदालतको यो ठहरलाई कानुनविद्हरुले माग भन्दा धेरै निर्णय गरेको रुपमा हेरेका बेला एमाले र माओवादीमा अदलबदल भएका नेताहरुलाई असहज पर्ने स्थिति आएको हो । नेता नेपाल हाल पूर्वमाओवादी पृष्ठभूमिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहकार्यमा हुनुहुन्छ ।
उहाँसँगै झलनाथ खनाल, सांसद सुरेन्द्र पाण्डे लगायत पनि प्रचण्ड समुहमा लाग्नु भएको छ । यो अवस्था पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुमा पनि आएको छ । ००००००

Share.

Leave A Reply