कांग्रेस निर्वाचन वा सरकारको नेतृत्व दुवैका लागि तयार छ : पूर्वमहामन्त्री सिटौला

0

विर्तामोड, २४ फागुन ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक शासन ब्यवस्थाको संरक्षणका लागि नेपाली कांग्रेस सरकारको नेतृत्व गर्न तथा निर्वाचनमा जान तयार रहेको संकेत गर्नुभएको छ ।
नेपाल महिला संघ झापाको आयोजनामा नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित १११ औं अन्तर्राष्ट्रिय नारी दिवस तथा सम्मान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिटौलाले यस्तो संकेत गर्नुभएको हो ।
‘प्रधानमन्त्री के.पी. शर्मा ओलीले संसदबाट विश्वासको मत लिन नसकेको अवस्थामा र संसदले बहुमतका आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न नसके मुलुक निर्वाचनमा जान्छ’–उहाँले भन्नुभयो– ‘नेपाली कांग्रेस पाँच बर्षसम्म नै संसद चलोस् भन्ने चाहन्छ, जनताको म्याण्डेट बमोजिम सरकारमा जाने हाम्रो इच्छा छैन । तर संविधानको संरक्षण, लोकतन्त्रको रक्षा र न्यायिक सर्वोच्चताका लागि कांग्रेस निर्वाचन वा सरकारको नेतृत्व दुवैका लागि तयार छ ।’
कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले आरक्षण ब्यवस्थामा मात्रै भर नपरी प्रतिष्पर्धामा उत्रन सक्ने क्षमता अभिबृद्धि गर्न महिलाहरुलाई आह्वान गर्दै संविधानले महिलालाई सतप्रतिशत स्थान दिएको उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले महिला र पुरुषको समान सहभागिता र अवसरले मात्रै आर्थिक समृद्धि र देशको विकास सम्भव हुने बताउनुभयो ।
नेपाल महिला संघ झापा सभापति सुशीला ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक आन्दोलनमा योगदान पु¥याउने महिलाहरु हस्तमाया भण्डारी, हेमकुमारी घिमिरे, पूर्णकुमारी घिमिरे, उद्यमी महिला सिता बास्कोटा लगायत १० जनालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ००००००

Share.

Leave A Reply