बिर्तामोड नगरपालिकाको ७, ८ र ९ वडा कार्यालय सञ्चालनमा रहेको भवनमा बम विस्फोट, कसले विस्फोट गराएको भन्ने यकिन हुन बाँकी

0

विर्तामोड, २७ साउन ।


बिर्तामोड नगरपालिकाको तीन वटा वडा कार्यालय सञ्चालनमा रहेको भवनमा बम विस्फोट भएको छ । बिर्तामोड–९ स्थित गरामनीमा ७, ८ र ९ नम्बर वडा कार्यालय सञलनमा रहेको भवनमा आज बिहान साढे ४ बजे विस्फोट भएको हो ।

भवन आसपासमा विस्फोट भए जस्तै आवाज आएपछि अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्फोटबाट कार्यालय भवनको ६ वटा झ्याल, कोठाभित्र रहेका फर्निचरका सामान र कार्यालयको भित्तामा क्षति पुगेको छ । घटनास्थलमा विस्फोटक पदार्थका कुनै पनि अवषेशहरु फेला नपरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दिनेशराज मैनाली, डिएसपी महेन्द्रकुमार श्रेष्ठ र इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्सपेक्टर सुनिलकुमार श्रेष्ठसमेत खटिएको बताइएको छ ।
बम विस्फोट भएको वडा कार्यालयको भवन अस्थायी प्रहरी चौकी गरामनीबाट ५ सय मिटर उत्तरमा पर्छ । कसले विस्फोट गराएको भन्ने यकिन भइ नसकेको प्रहरीले जनाएको छ । ००००००

Share.

Leave A Reply