वाणिज्य बैंकहरुले कमाए ६५ अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंक नाफा कमाउनेमा नम्वर वान

0

विर्तामोड, १ भदौ ।


मुलुकमा सञ्चालित २८ वटै वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७५–७६ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा ६५ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गरेका हुन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २५ प्रतिशत बढी मुनाफा हो । अघिल्लो आर्थिक वर्ष ०७४–७५ मा यी बैंकहरुले ५२ अर्ब ७ करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म कर्जा तथा निक्षेपको ब्याजदरबीचको अन्तर (स्प्रेड रेट) ४ दशमलव ५ मा झार्न निर्देशन दिएको थियो । अघिल्लो आर्थिक वर्ष ५ प्रतिशत रहेको स्प्रेड रेट असार मसान्तसम्म अधिकांश बैंकले ४.५ मा झारेको भए पनि मूनाफामा राम्रै सुधार भएको हो । औसतमा भने बैंकहरुको स्प्रेड रेट ६ प्रतिशतको हाराहारीमा छ ।
उद्योगी–व्यवसायीहरुले भने बैंकहरुले बढी मुनाफा कमाएको भन्दै स्प्रेड रेट ३.५ प्रतिशतमा झार्न माग गर्दै आएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले आगामी असार मसान्तसम्म ४.४ मा झार्न निर्देशन दिएको छ । बेलाबेलामा तरलता अभावको सामाना गरिरहेका बैंकहरुले यत्तिको मुनाफा आर्जन गर्नु राम्रो भएको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन् ।
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मुनाफाका आधारमा नम्बर वान देखिएको छ । यो बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ३२ करोड ८३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्दै पहिलो बन्न सफल भएको हो ।
बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४५.६१ प्रतिशतले बढेको छ । मुनाफाका आधारमा कृषि विकास बैंक दोस्रो स्थानमा देखिएको छ । यो बैंकले एक वर्षमा चार अर्ब ३५ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
निजी क्षेत्रको लगानी रहेका बैंकहरु मध्ये सबैभन्दा धेरै मुनाफा नविल बैंक लिमिटेडले कमाएको छ । नविलले एक वर्षमा ४ अर्ब रुपैयाँभन्दा बढी मुनाफा आर्जन गरेको छ ।
गत आर्थिक वर्षमा ३ वटा बैंकले मूनाफामा सुधार गर्न सकेनन् । आर्थिक वर्ष ०७४–७५ को तुलनामा ०७५–७६ मा ३ वटा वाणिज्य बैंकले मुनाफामा सुधार गर्न नसकेका हुन् । ३ मध्ये नेपालकै सबैभन्दा जेठो बैंक नेपाल बैंकको नाफामा समेत गिरावट आएको छ । यो बैंकको मुनाफा करिब १९ प्रतिशतको छ । गत आर्थिक वर्षमा यो बैंकको नाफा दुई अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको हालत पनि उस्तै छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले तीन अर्ब ४१ करोड ५६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अर्को सेञ्चुरी कमर्सियल बैंकको नाफामा पनि गिरावट आएको छ । सेञ्चुरी कमर्सियल बैंकले जम्मा ८६ करोड आठ लाख रुपैयाँ मात्रै कमाएको छ । ००००००

Share.

Leave A Reply