झापाको बिर्तामोडमा सञ्चालित एभरेष्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट एक जना बिद्यार्थीको खुट्टा भाँचियो, पीडित परिवारलाई दवाव दिएर बिद्यालयद्वारा शिक्षक प्रधानलाई उन्मुक्ति

0

बिर्तामोड, ७ भदौ ।


झापाको बिर्तामोडमा सञ्चालित एभरेष्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट एक जना बिद्यार्थीको खुट्टा भाँचिएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही बिद्यालयमा कक्षा ७ मा अध्ययनरत बिद्यार्थी कुनाल गट्टानीको खुट्टा भाँचिएको हो । अर्जुनधारा नगरपालिका – ८ का किसन गट्टानीका छोरा पंकजलाई शिक्षकले घाँटीमा समातेर बेञ्चमा पछार्दा खुट्टा भाँचिएको हो ।
घटना बिहीबारको हो । कक्षा–७ को तेस्रो घण्टी पढाउन प्रधान कक्षा कोठामा प्रवेस गरे । सो बेला केही बिद्यार्थीले बाथरुमको धाराको पानी बोतलमा भरेर शिक्षकको पोडियममा राखिदिएका थिए । सो पानी शिक्षकले पिए । त्यसपछि बिद्यार्थीहरु हाँस्न थाले । शिक्षकले किन हाँसेको भनेर सोधे । बिद्यार्थीले बाथरुमको पानी सरले खानुभयो भनेपछि उनी आक्रोशित भए । उनले नहाँस्न बिद्यार्थीलाई चेतावनी दिए ।
सबै बिद्यार्थी पुन हाँस्न थाले । ती मध्येबाट बिद्यार्थी गट्टानीलाई अगाडि ल्याएर शिक्षक प्रधानले गालामा थप्पड हाने । त्यतिगर्दा पनि रिस नमरेपछि उनले घाँटीमा समातेर बेञ्चमा पछारेपछि बिद्यार्थीको देब्रे खुट्टा भाँचिएको पीडित बिद्यार्थीले बताएका छन् । शिक्षक प्रधानले गट्टानीलाई बाथरुमको पानी ख्वाएको भन्दा पनि हाँसेको निहुमा मरणासन्न हुनेगरी पिटेका हुन् । कनकाई हस्पिटलमा उपचारपछि स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा अहिले पीडित बालकको घरमा उपचार भइरहेको गट्टानीले जानकारी दिनुभयो ।
‘मेरो छोरालाई मार्ने नियतका साथ कुटपिट भएको रहेछ, पीडित बालकका बाबु किसनले भन्नुभयो– ‘भाग्यले बाँच्यो ।’ बिद्यालयले बालकको निगरानीका लागि नर्सको ब्यवस्था गर्ने, उपचारमा लागेको सम्पुर्ण खर्च ब्यहोर्ने, घरमै शिक्षकको ब्यवस्था गरेर अध्ययनको ब्यवस्था गर्ने, बालकलाई अर्कै बिद्यालयमा अध्ययनको ब्यवस्था गर्ने र त्यसको शुल्क बिद्यालयले तिर्नेगरी सहमति गरिएको पीडितका बाबु गट्टानीले जानकारी दिनुभयो ।
अभिभावक, बिद्यालय ब्यवस्थापन समिति र बिद्यालय सञ्चालकको बैठकले बिद्यार्थीको खुट्टा भाँच्ने शिक्षक प्रधानलाई भने उन्मुक्ति दिएको छ । पीडित परिवारलाई दवाव दिएर सहमति गर्दै बिद्यालयले प्रधानलाई उन्मुक्ति दिएको हो । बिद्यालयका प्रधानाध्यापक आशिष प्रसाईँले घटना भएको स्वीकार गर्नु भएको छ । उहाँले सो घटनालाई नियत नभई आवेसमा भएको भन्दै शिक्षकको बचाउ गर्नुभएको हो । झापाको उच्च घरानाद्वारा सञ्चालित सो बिद्यालयको घटना लुकाउन ठुलै कसरत गरेको पाइएको छ । सो बिद्यालय लामो समयदेखि बिद्यालय सञ्चालन क्षेत्रमा रहनु भएका हरिकुमार प्रसाईँद्धारा सञ्चालित हो । उहाँको आग्रहमा झापाका राजनीतिक दलका प्रतिनिधिले समेत घटना मिलाउन सघाएका थिए । घटना बाहिर नल्याउनका लागि बिद्यालयले पीडितको सबै माग पुरा गरिदिएको छ । प्रधानाध्यापक प्रसाईँले भन्नुभयो, पीडित पक्ष, स्थानीय तहका जनप्रतिनिधि, बिद्यालय ब्यवस्थापन समितिको छलफलपछि शिक्षक प्रधानलाई एक पटकलाई माफी दिएको छ ।’ प्रसाईँको स्मार्टसँगै न्युटन्स एजुकेसन एकाडेमी सञ्चालनमा छ । ०००००००

Share.

Leave A Reply