फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालको चाइनिज ताइपेईविरुद्ध ऐतिहासिक जित

0

विर्तामोड, २४ भदौ ।


फिफा विश्वकप अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले चाइनिज ताइपेईविरुद्ध ऐतिहासिक जित निकालेको छ ।
ताइपेईविरुद्ध दोस्रो पटक मैदानमा उत्रिएको नेपालले अञ्जन नायक बन्दा दुई–शून्यको जित निकालेको हो । यति मात्र होइन, प्रशिक्षक योहान कालिनले फुटबल टिम सम्हालेपछि पहिलो जित निकालेका छन् भने नेपालले नौ खेलपछि पहिलो जित निकालेको छ । पछिल्लो एक वर्षमा पहिलो जित हात पारेको छ ।
ताइपेईमा भएको खेलमा नेपालका लागि अञ्जन विष्टले खेलको तेस्रो मिनेटमा नै गोल गर्न सफल भए । ताइपेईको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै नेपालले गोल गर्न सफल भयो । खेलको सुरुवातमा नै गोल खाएको ताइपेइले खेलमा फर्कन निकै दबाब दिएको थियो । २२ औँ मिनेटमा ताइपेईको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाएका थिए ।
त्यसपछि ४१औं मिनेटमा फेरि ताइपेईको सशक्त प्रहारलाई नेपाली गोलकिपर किरणले नै ब्लक गरेका थिए । त्यसपछि ४३ औं मिनेटमा ताइपेईले डिबक्समा अर्को गोलको अवसर सिर्जना गरेको थियो । तर, पोष्ट नजिकैबाट बाहिरियो ।
पहिलो हाफमा एक गोलले पछाडि परेको ताइपेई दोस्रो हाफमा झन आक्रामक रुपमा मैदानमा उत्रियो । उसले ५२औं मिनेटमा पाएको मौकालाई पनि नेपाली डिफेन्स लाइनले क्लियर गर्यो । यसका साथै ५४औं मिनेटमा ताइपेईको फ्रिकिकलाई नेपालको डिफेन्सले नै बचायो ।
दोस्रो हाफमा एकोहोरो रुपमा पेलेको ताइपेईले बारम्बार नेपालको पोष्टमा धावा बोले पनि डिफेन्स बलियो हुँदा आधा दर्जन प्रहारलाई रोकेको थियो । त्यसमा किरण चेम्जोङले पनि उत्कृष्ट प्रदर्शन गरे । नेपाली टिमको कप्तानी समेत गरिहेका किरणले ताइपेईको प्राय प्रहारलाई असफल बनाएका थिए ।
खेलको ६२ औं मिनेटमा नेपालले दोस्रो गोल गर्यो । नेपालका लागि फेरि पनि अञ्जनले गोल गर्न सफल भए । उनले डिबक्सभित्र अनमार्क रहेको फाइदा उठाउँदै गोल गर्न सफल भए ।
ताइपेईले बारम्बार प्रहार गरे पनि गोल फर्काउन असफल भयो । ताइपेईको प्रतियोगितामा लगातार दोस्रो हार हो । यसअघि उसले जोर्डनसँग दुई–एकको हार ब्यहोरेको छ । यता, नेपाल कुवेतसँग सात–शून्यले पराजित भएको थियो । नेपालले आउँदो अक्टोबर १० तारिखमा अस्ट्रेलियासँग खेल्ने छ । ००००००

Share.

Leave A Reply