अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार बर्खास्त

0

विर्तामोड, २५ भदौ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारलाई बर्खास्त गरेका छन् । ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेको घोषणा गरेका हुन् । बोल्टनसँग आफ्नो विचार गम्भीर रुपले बाझिएकाले बर्खास्त गरेको ट्रम्पले उल्लेख गरेका छन् । ट्रम्पले ट्वीट गरेका छन्, ‘मैले बोल्टनलाई राजीनामा दिन आग्रह गरेँ, उनले मंगलबार बिहान राजीनामा बुझाए ।’
बोल्टनको ठाउँमा आउने व्यक्तिको नियुक्ति अर्को हप्ता गर्ने पनि ट्रम्पले उल्लेख गरेका छन् । ट्रम्पले बर्खास्त गरेको बताए पनि बोल्टनले भने आफैंले पद त्यागेको बताएका छन्, र आफ्नो भन्नु पर्ने कुरा बाँकी रहेको उल्लेख गरेका छन् ।
बोल्टनले राष्ट्रपति ट्रम्पले विदेश नीतिका सम्बन्धमा गर्न चाहेका विभिन्न परिमार्जनमा असहमति जनाउँदै आएका थिए । विशेष गरी अफगानिस्तान र इरानसँगको नीतिका सम्बन्धमा बोल्टनको विमति छ । बोल्टन सन् २०१८ को अप्रिलदेखि राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा कार्यरत थिए । माइकल फ्लीन र एचआर म्याकमास्टरपछि बोल्टन नियुक्त भएका थिए । ट्रम्पले ट्वीट गरेर बर्खास्त गरेको बताएको केहीबेरपछि नै बोल्टनले ट्वीट मार्फत नै आफ्नो भनाई प्रस्तुत गरेका छन् । ००००००

Share.

Leave A Reply