रोनाल्डो विश्वमा राष्ट्रिय टिमबाट अधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो नम्बरमा

0

विर्तामोड, २५ भदौ ।


स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो अन्तर्राष्ट्रिय खेलमा विश्व कीर्तिमान बनाउने यात्रामा बलियो रुपमा अघि बढेका छन् ।
युरोकप फुटबल २०२० को छनौट चरण अन्तर्गत गए राति भएको खेलमा रोनाल्डोले चार गोल गरे । उनकै चार गोलको सहयोगमा पोर्चुगलले लिथुवानियालाई ५–१ गोलले पराजित गरेको छ ।
समूह बी अन्तर्गतको खेलमा अवे मैदानमा पोर्चुगलका लागि अर्को एक गोल विलियम कारवाल्होले गरेका हुन् । घरेलु टोली लिथुवानियाका लागि विताउतासले एक गोल फर्काए ।
सातौँ मिनेटमा पोर्चुगलले पेनाल्टी पायो, त्यसलाई सदुपयोग गर्दै रोनाल्डोले टिमका लागि व्यक्तिगत पहिलो गोल गरे । २८ औँ मिनेटमा विताउतासले लिथुवानियाका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा दोस्रो हाफमा पोर्चुगलले थप चार गोल गरेको हो ।
रोनाल्डोले ६१ र ६५ औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे । उनले ७६ औँ मिनेटमा व्यक्तिगत चौथो गोल गरेपछि पोर्चुगलले ४–१ को अग्रता लियो ।
इन्जुरी समयको दोस्रो मिनेटमा विलियमले गोल गरेपछि पोर्चुगल ५–१ ले विजयी भयो । यो जितको अर्थ साबिक विजेता पोर्चुगल प्ले–अफ बिना नै छनौट हुने सम्भावनामा छ । समूह बी को शीर्ष स्थानमा रहेको युक्रेनको १३ तथा दोस्रो स्थानमा पोर्चुगलको ८ अंक छ ।
गए राति नै भएको खेलमा लग्जेम्बर्गलाई ३–१ ले पराजित गरेको सर्बियाको सात अंक भएको छ ।
पोर्चुगलको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका रोनाल्डोले राष्ट्रिय टिमबाट गरेको गोलको संख्या ९३ पुगेको छ । उनी पोर्चुगलका सर्वकालीन सर्वाधिक गोलकर्ता हुन् । तर, उनी विश्वमा राष्ट्रिय टिमबाट अधिक गोल गर्ने खेलाडीको सूचिमा दोस्रो नम्बरमा छन् ।
इरानका अली दाईले १०९ गोल गरेका छन् । यसको अर्थ अलीको कीर्तिमानमा बराबरी गर्न अब रोनाल्डोले १६ गोल गरे पुग्छ । रोनाल्डोले राष्ट्रिय टिमबाट आठौँ पटक ह्याट्रिक गरेका हुन् । यस्तै उनले सन् २०१६ मा एण्डोरासँगको खेलमा पनि चार गोल गरेका थिए । ००००००

Share.

Leave A Reply