प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन प्रतिक्रियावादीहरूले अभियान चलाइरहेका छन् : सञ्चारमन्त्री गुरुङ
बिर्तामोड, १५ कात्तिक ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी–विदेशी प्रतिक्रियावादीहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको टिप्पणी गर्नु भएको छ ।
देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति भएपनि ओलीलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्ल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको उहाँको भनाइ थियो ।
आज काठमाडौंमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसी–भैलो कार्यक्रममा बोल्दै उहाँले ओलीलाई एक्ल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमाले, नेता कार्यकर्तालाई सचेत गराउनुभयो । उहाँले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताउनुभयो ।
एमाले उपमहासचिव समेत रहनुभएका सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्र हुँदा पनि पार्टी पंक्ति त्यसको पक्षमा नउभिएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नयाँ पार्टीहरुले त्यही भाष्य बनाएका छन् । देशी, विदेशीहरुले त्यही भाष्य बनाएका छन् । हामीलाई कसरी एक्लो पारौँ ? भनेका छन् । हामो अध्यक्षलाई कसरी एक्ल्याउने भनेका छन् ? प्रधानमन्त्रीबाट हटाउने भन्ने अभियानमा छन् । त्यसमा हाम्रा शतर्कता खै ? यो मुलुकका लागि केहीन केही योगदान गरिएको छ । निःस्वार्थ रुपमा देशका लागि काम गरिएको छ । त्यो व्यक्ति केपी ओली नै हो । तर उनी जहाँ जाँदा पनि किन नारा लागि रहेको छ ? त्यसकारण हामीले किन त्यसको उत्तर दिन सकिरहेका छैनौँ ? यति ठूलो षड्यन्त्र छ, त्यो षडयन्त्रको विरुद्धमा बोल्ने कोही छैन ।’
मन्त्री गुरुङले सरकारले देश र जनताको हितमा धेरै काम गरेको बताउनुभयो । सरकारले आफ्ना सय दिनको कार्यकालमा मुलुक र जनताको अहितमा एउटा पनि काम नगरेको उहाँले दाबी गर्नुभयो । ०००००
प्रतिकृया दिनुहोस