अहिलेको सत्ता समीकरण र सरकारलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री ओली
काठमाडौँ, ७ मङ्सिर ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताउनुभएको छ ।
काठमाडौंको दरबारमार्गमा भएको एमालेको जनजागरण सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश र जनताको पहरेदारको रुपमा रहेको बताउनुभयो ।
‘एमालेलाई कसैले हल्लाउन सक्दैन । अहिलेको समीकरणलाई कसैले हल्लाउन सक्दैन । सरकारलाई कसैले हल्लाउन सक्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यो सरकार कमिसन खोरीका लागि होइन । मेरिटोक्रेसीको नाममा आफ्ना कार्यकर्ता भर्नका लागि होइन । जनताको विकासको चाहना पूरा गर्ने र स्थायित्व दिने गरी बनेको हो ।’
उहाँले एमाले र नेपाली कांग्रेस प्रतिस्पर्धी पार्टी भएपनि अहिले मुलुकका लागि एक ठाँउमा उभिएको बताउनुभयो । ‘एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी हुन् । तर कांग्रेस र एमाले किन एक ठाउँमा छन् किन भने अहिले हामीबीचको प्रतिस्पर्धाभन्दा एकता चाहिन्छ । अराजकताको स्थिति ल्याउन खोजिएको छ । समाजलाई भाँड्न खोजिएको छ । त्यसैले हामी मिलेका छौ । नेपाली जनताले ल्याएको लोकतन्त्र र सार्वभौम जनताको हैसियतविरुद्ध षड्यन्त्र भइरहेको छ’, अध्यक्ष ओलीले भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभइ पहिले चीन भ्रमण गरेर अपरिपक्व काम गर्न लागेको भन्दै टिप्पणी गर्नेप्रति आपत्ति जनाउँदै त्यस्तालाई ‘वाहियात’ र ‘कायर’ को संज्ञा दिनुभएको छ ।
उहाँले काठमाडौंको दरबारमार्गमा एमालेको जनजागरण सभामा सम्बोधन गर्दै पहिले कहाँ जानुप¥थ्यो भन्ने कहाँ लेखको छ भन्दै प्रश्न गर्नुभयो ।
‘कतिले के–के न व्यवसाय भेट्टाए जसो गरेर पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो भन्छन् । कस्तो हुन्छ परिपक्व भनेको ? पहिले कता जानुपर्ने ? धर्मशास्त्रमा लेखेको छ कि ? संविधानमा लेखेको छ कि ? संयुक्तराष्ट्रसंघको बडापत्रमा लेखेको छ ? कहाँ चाहि परिपक्वता भेट्नुभयो ?’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यी वाहियात र कायर कुरा हुन् । हामी सबै छिमेकीहरूलाई पारस्परिक लाभ र समान सम्बन्धहरू । पारिस्परिक सम्मानका आधारमा व्यवहार गर्छौं र सम्बन्ध राख्छौं ।’
गत साता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय पत्रिका हिन्दूलाई अन्तर्वार्ता दिँदै चाइना कार्ड खेल्नका लागि ओली भारत नगइ चीन भ्रमणमा जान लागेको बताउनुभएको थियो । त्यसको एमालेले कडा शब्दमा विज्ञप्ति मार्फत् पनि खण्डन गरेको थियो ।
प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धलाई अत्यन्तै सन्तुलित सम्बन्धको रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।
‘हाम्रो भौगोलिक अखण्डताको रक्षा गर्दै हाम्रो सार्वभौमसत्ता र स्वाधीनतालाई रक्षा गर्दै राष्ट्रिय हितको रक्षा गर्दै छिमे सम्बन्धलाई अझै सुदृढ बनाउँछौं’, उहाँले भन्नुभयो, ‘हाम्रो कसैप्रति वैरभाव छैन । छैन कोही शत्रु ।’
उहाँले १७ गतेबाट हुने आफ्नो भ्रमण सफल हुने बताउनुभयो । ‘म चीनबाट फर्केपछि कसरी सफल भयो भन्न म आफैँ भन्नेछु । चीन यसै घुमेर आउँ भनेर जान लागेको होइन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन कम्बोडियाको टेलिकममा आफ्नो लगानी रहेको अफवाह फैलाइएको भन्दै आपत्ति जनाउनुभएको छ ।
आज काठमाडौंको दरबारमार्गमा पार्टीले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै उहाँले कम्बोडियाको टेलिकममा लगानी गरेको अफवाह फैलाइरहेको उल्लेख गर्दै तथ्यसहित बहस गर्न चुनौती दिनुभयो ।
‘म विभिन्न पार्टीका नेता साथीहरुलाई भन्न चाहान्छु । तपाईंहरु नेकपा एमालेतिर औँलो ठड्याएर बोलिरहनुभएको छ । के तपाईंहरु साँच्चै बहस गर्न सक्नुहुन्छ नेकपा एमालेसँग ? तथ्यसहित बहस गर्न सक्नुहुन्छ । भन्दिए त भयो नि, कम्बोडियामा ३२ हजार करोड, २१ हजार करोड डलर, स्विस बैंकमा यत्ती हजार ? तपाईंहरु त हेर्न जानुहुन्न । यस्ता फाल्तु कुराहरु गरेर केही छैन । देशको अर्थतन्त्र र मौद्रिक नीतिलाई खलबल्याउन र ध्वस्त बनाउनका लागि यस्ता कुराहरु भएका हुन्’, उहाँले भन्नुभयो ।
नेपाली जनताले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । ‘नेपाली जनताले ठूलो संघर्ष र बलिदान गरेर ल्याएको लोकतन्त्रलाई, सार्वभौम जनताको हैसियतलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ, देशमा देश र जनताको लागि पहरेदार र सिपाहीका रुपमा नेकपा एमाले रहेको छ र रहनेछ । नेकपा एमालेलाई कसैले हल्लाउन सक्ने छैन । अहिलेको समिकरणलाई कसैले हल्लाउन सक्ने छैन । अहिलेको सरकारलाई कसैले हल्लाउन सक्ने छैन । किनभने अहिले हामी कुनै कमिसनखोरी गर्नका लागि सरकारमा गएका होइनौं । भ्रष्टाचार गर्न होइन, आफ्ना भर्ती गर्नका लागि होइन’, उहाँले भन्नुभयो ।
मुलुकको मौद्रिक नीति सहजतातर्फ फर्किरहेको बताउँदै उहाँले सबै उद्योगीहरुलाई ढुक्क भएर व्यापार व्यवसाय सञ्चलान गर्न आग्रह गर्नुभयो । ०००००
प्रतिकृया दिनुहोस