रसुवामा शुरू भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न
विर्तामोड, ८ मंसिर ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा रसुवामा शुरू भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । तीन वटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भई १ सय ६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीन वटै आयोजनाबाट उत्पादित बिजुली रसुवाको आमाछोदिङमो गाउँपालिकाको थम्बुचेतमा रहेको प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो ।
१४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेन, ४२ दशमलव ५ मेगावाटको साञ्जेन र १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । यसमध्ये माथिल्लो साञ्जेन गएको वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा बिजुली उत्पादन गरी अहिलेसम्म झन्डै ३० करोड रुपैयाँको बिजुली बिक्री गरिसकेको छ । ४२ दशमलव ५ मेगावाटको साञ्जेन जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गरी शुक्रवारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा बिजुली उत्पादन शुरू गरिएको छ । ०००००
प्रतिकृया दिनुहोस