२०८२ ‘कोशी भ्रमण वर्ष’ घोषणा
विर्तामोड, ८ मंसिर ।
कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाले आगामी २०८२ लाई कोशी प्रदेश सरकारले ‘कोशी भ्रमण वर्ष’ घोषणाको तयारी गरेको बताउनुभएको छ ।
आजदेखि इलाममा सुरु भएको ‘फुड फेस्टिबल’ उद्घाटन गर्दै मन्त्री रानाले कोशीको पर्यटन प्रवर्धन गर्न भ्रमण वर्ष घोषणाको तयारी गरिरहेको बताउनुभयो ।
मन्त्री रानाले भ्रमण वर्षका लागि कोशी प्रदेशका विभिन्न दुईसय स्थानलाई गन्तव्यका रूपमा सार्वजनिक गर्ने र ८५ स्थानमा प्रदेश सरकार आफैँले पनि पर्यटकलाई जान सहजीकरण गर्ने तयारी गरिरहेको बताउनुभयो ।
मन्त्री रानाले कोशी प्रदेश सरकारले अन्य दुई योजनालाई पनि यही वर्ष गर्ने गरी तयारी गरिरहेको बताउनुभयो । ‘हामीले आगामी माघको दोस्रो सातासम्ममा कोशी प्रदेश लगानी सम्मेलन र वर्षको अन्त्यतिर अन्तर्राष्ट्रिय चिया सम्मेलन गर्ने योजनामा छौँ ।’
मन्त्री रानाले भन्नुभयो, ‘लगानी सम्मेलनले कोशीका पर्यटन, होटल व्यवसाय, कृषि क्षेत्र, विद्युत, जल, यातायातका क्षेत्रमा लगानी भित्र्याउने लक्ष्य राखिएको छ ।’ मन्त्री रानाले कोशीका तीन हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुको हिमाली क्षेत्रमा विदेशी पर्यटक भित्र्याउन कोशी सरकारले अबका योजना समेत बनाउने बताउनुभयो ।
‘अहिले हिमाली, पहाडी र तराईका पनि धार्मिक तथा पर्यटकीय क्षेत्रमा थप योजना र विकास गर्नुपर्ने देखिएको छ ।’ मन्त्री रानाले भन्नुभयो, ‘हिमाली क्षेत्रमा पूर्वाधार विकास गर्न सक्दा विदेशी डलर भित्र्याउन सहज हुन्छ भन्ने हाम्रो ठम्याइ छ ।’
यता, आजदेखि सुरु भएको फुड फेस्टिवल भोलिसम्म चल्नेछ । फेस्टिवलमा राई, लिम्बू, नेवारलगायत विभिन्न जातजातिका १६ वटा खानाका स्टल राखिएको होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौड्यालले बताउनुभयो । स्टललाई प्रतिस्पर्धा गराई पुरस्कृत समेत गरिने बताइएको छ । ००००००
प्रतिकृया दिनुहोस