चित्लाङ एफसीललाई हराउँदै एनआरटी प्रथम झापा कपको सेमिफाइनलमा प्रवेश
बिर्तामोड, ४ पुस ।
चित्लाङ फुटबल क्लबलाई हराउँदै काठमाण्डौको एनआरटी क्लब प्रथम थापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी मैदानमा आज भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा एनआरटीले काठमाण्डौ जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५–१ गोलले हरायो । एनआरटीको कप्तान अञ्जन विष्टले ह्याट्रिक गरे । अञ्जन प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
यो खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । एनआरटीसँगै इटहरीको राष्ट्रिय जागृति क्लब, सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा पुगेका छन्
भोलिको पहिलो सेमिफाइनल खेल सिरहाको सलहेश फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने आयोजकले जनाएको छ । एनआरटीले इटहरीको राष्ट्रिय जागृति क्लबसँगको भेट पक्का गरेको छ ।
प्रतियोगिताका विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिनुभयो ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार नगद पाउनेछन् । प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एक जनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
त्यस्तै, प्रतियोगिताको एक उदीयमान खेलाडीलाई झापा ट्यालेन्ट घोषणा गरेर नगद ३५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एक जना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगितालाई रोमाञ्चक बनाउँदै प्रोत्सहान गर्न बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन एकजना भाग्यशाली दर्शकलाई हिमस्टार टिभी प्रदान गर्दै आएको छ । ००००००
प्रतिकृया दिनुहोस