‘राम्रो महसुस’ गरिरहेको छु : थाक्सिन 

विर्तामोड, २ चैत ।

भ्रष्टाचार र शक्ति दुरुपयोगको आरोपमा कारागार सजायभन्दा चाँडै रिहा भएपछि आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले आफूले ‘राम्रो महसुस’ गरिरहेको बताउनुभएको छ ।  
विवादास्पद अर्बपति, दुई पटकका प्रधानमन्त्री तथा सैन्य विद्रोहमा सन् २००६ मा अपदस्त हुनुभएका सिनावात्रा आफ्नो गृह नगर चियाङमाईको तीन दिवसीय यात्राको दोस्रो दिनमा हुनुहुन्छ । “मैले राम्रो महसुस गरिरहेको छु”, आफ्नो नातेदारको समाधिस्थलको भ्रमणपछि उत्तरी थाई लवजमा कुरा गर्दै उहाँले पत्रकारहरूसँग भन्नुभयो । 
पन्ध्र वर्षको स्वनिर्वासनपछि ७४ वर्षीय सिनावात्रा गत वर्षको अगस्टमा स्वदेश फर्कनुभएको थियो । स्वदेश फर्के लगत्तै उहाँ सत्तामा रहँदाको समयसँग सम्बन्धित आरोपमा आठ वर्षका लागि कारागार जानुभएको थियो । तर, स्वदेश फर्केको केही दिनमै राजा महा वजिरालोङ्कोर्नले उहाँको सजाय घटाएर एक वर्ष बनाउनुभएको थियो । र, गत महिना सरकारले वृद्धावस्था र बिग्रँदो स्वास्थ्यका कारण उहाँ चाँडै रिहा गर्न योग्य भएको बताएको थियो । 
कारागार अस्पतालमा हिरासतमा रहँदा सिनावात्राको पाँच पटक अर्थोपेडिक शल्यक्रिया गरिएको अधिकारीहरूले अक्टोबरमा पुष्टि गरेका थिए । यद्यपि उनीहरूले थप विवरण दिएका छैनन् । 
उहाँको परम्परागत राजनीतिक आधार रहेको उत्तरको भ्रमण रिहाइपछि पहिलो सार्वजनिक भ्रमण हो । सिनावात्रासँग उहाँकी छोरी पातोङ्टार्न र उहाँका पति पनि हुनुहुन्छ । पातोङ्टार्न अहिले सिनावात्राको फेउ थाई पार्टीको प्रमुख हुनुहुन्छ । 
“खुशी परिवारमा निर्भर हुन्छ”, उहाँले पत्रकारहरूसँग भन्नुभयो, “खुशी घरमा हुन्छ ।” यसअघि उहाँले सानो सङ्ख्यामा समर्थक जम्मा भएका वररोट बजारको भ्रमण गर्नुभएको थियो । 
पूर्वप्रहरी अधिकारीबाट टेलिकम टाइकुन बनेका सिनावात्रा सन् २००० को दशकको प्रारम्भमा आफ्नो लोकप्रिय नीतिका लागि लाखौँ ग्रामीण थाईका बीच प्रिय हुनुहुन्छ तर लामो समयदेखिको मुलुकको शाहीवादी तथा सैन्य समर्थक प्रतिष्ठानले उहाँको विरोध गर्दै आएको छ ।  
सत्ता प्रतिष्ठान र सिनावात्रा तथा उहाँका सहयोगीबीचको प्रभुत्वको लडाइँले पछिल्लो दुई दशकमा थाई राजनीतिलाई धेरै हदसम्म परिभाषित गरेको छ । ००००००
 

प्रतिकृया दिनुहोस