एमालेले हार्न मिल्दैन : अध्यक्ष ओली 

बिर्तामोड, १७ चैत ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत निर्वाचनमा एमालेले आफू विरुद्धको खतरनाक गठबन्धनका कारण पराजयको सामना गर्नुपरेको उल्लेख गर्दै आसन्न उपनिर्वाचनमा सुखद परिणाम ल्याउने दाबी गर्नुभएको छ । 
आज एमाले बझाङ–काठमाडौं सम्पर्क मञ्चको आयेजनामा बझाङ प्रदेश सभा–१ को उपनिर्वाचन विशेष भेलालाई सम्बोधन गर्दै उहाँले गत निर्वाचनमा सबै दल एकातिर र केही नेताले पार्टी फुटाएकै कारण केही ठाउँमा कमजोर नतिजा आएको उल्लेख गर्नुभयो । यसपटकको उपनिर्वाचनमा हार्न नमिल्ने पनि उहाँले बताउनुभयो । 
उहाँले भन्नुभयो, ‘गत निर्वाचनमा सबै पार्टी एकातिर र नेकपा एमाले एकातिर, त्यस्तो अवस्थाकोे सामना गर्नुपर्दा पराजयको पीडा व्यहोर्नुपरेको थियो । तर यसपटक हामी सुखद परिणाम गर्न चाहन्छौं । यसपल्ट हामी हार्दैनौ, हार्न मिल्दैन । गतवर्षको निर्वाचनमा नेकपा एमालेकै हस्ती भनिएका नेताहरु पार्टी फुटाएर गएका थिए । एमाले त शून्य सिटमा झर्छ समेत भनेका थिए ।’
पार्टीविरुद्धको चर्को गठबन्धनका बाबजुद एमाले लोकप्रिय पार्टी हुँदै आफ्नो साख कायम राखेको अध्यक्ष ओलीको भनाइ छ । 
गतवर्षको निर्वाचनमा गठबन्धन गरेकै कारण गणितीय हिसाबले अन्य दलहरु केही सिट अगाडि गएपनि खराब नेताहरु पार्टीबाट निस्किनु नै उपलब्धी भएको ओलीले बताउनुभयो ।  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नाम नलिइ उहाँले सांकेतिक रुपमा आलोचना गर्नुभयो ।
बझाङमा उपनिर्वाचन भएको ठाउँमा डोरी अल्झ्याएर जितेको उल्लेख गर्दै सक्रियता र ऊर्जा लिएर अगाडि बढेमा एमालेकोे जित निश्चित रहेको ओलीले दाबी गर्नुभयो ।  ०००००००००  

प्रतिकृया दिनुहोस