एसईईको परीक्षाफलबाट दुखित छु : मेयर थोप्रा

शिवसताक्षी, २५ असार ।
झापाको शिवसताक्षी नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरेको छ । आज नगरपालिका कार्यालयमा एक कार्यक्रमका बीच नगरका ७२ जनालाई  ९ लाख ९९ हजार ७६० रुपैयाँ छात्रबृत्ति प्रदान गरेको हो । 
जसमा शिवसताक्षीको झिलझिलेमा सञ्चालित गणेशमान अध्ययन प्रतिष्ठानका २४ जनालाई ३ लाख रुपैयाँ प्रदान गरिएको छ । गणेशमानमा अध्ययन गर्ने ४ जनालाई नियमित, ३ जनालाई ५० प्रतिशत र १ जनालाई पूर्ण रुपमा छात्रबृत्ति प्रदान गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । त्यस्तै, १० जनालाई जनही १० हजार रुपैयाँका दरले प्रदान गरिएको छ । 
त्यसैगरी, नरबहादुर कर्मचार्य प्राविधिक शिक्षालयमा अध्ययनरत ५ जना विद्यार्थीहरुलाई एकमुष्ठ ५० हजार रुपैयाँ, सताक्षीधाम बहुमुखी क्याम्पसमा अध्ययनरत १९ जनालाई ५ हजार रुपैयाँका दरले ९५ हजार रुपैयाँ छात्रबृत्ति क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डिल्लीरमण खतिवडालाईलाई प्रदान गरिएको शिक्षा शाखा प्रमुख छवि ढकालले जानकारी दिनुभयो ।
साधारण विषयतर्फ १४ जना छात्रछात्रालाई जनही ५ हजार रुपैयाँका दरले छात्रबृत्ति प्रदान गरिएको छ भने नगर बाहिर अन्य विभिन्न क्याम्पसहरुमा अध्ययरत २० जनालाई पनि छात्रबृत्ति प्रदान गरिएको छ । शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ्गले विद्यार्थी, अभिभावक तथा विद्यालयलाई एक मुष्ठ छात्रबृत्ति प्रदान गर्नु भएको हो ।छात्रबृत्ति प्रदानका क्रममा बोल्दै नगरप्रमुख मेगाहाङ्ग थोप्राले कुनै पनि कारणले नगरभित्रका विद्यार्थीहरु देशका जुनसुकै क्याम्पसहरुमा अध्ययनरत भए पनि उनीहरु शिक्षाबाट बच्चित हुनु पर्दैन भन्ने उद्देश्यले नगरले छात्रबृत्ति प्रदान गरेको बताउनुभयो । उहाँले कार्यक्रम उपस्थित विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्नका लागि शुभकामना समेत दिनुभयो । 
नगर प्रमुख थोप्राले सरकारले उच्च लगानी गरिरहेको सरकारी विद्यालयहरुमा २०८० सालको एसईई परीक्षामा आएको परीक्षाफलले आफुलाई दुखित बनाएको बताउनुभयो । यसको विषयमा गम्भीर छलफल गरी नयाँ ढंगले अघि बढ्ने, शिक्षाको गुणस्तरलाई उच्च बनाउँदै आगामी परीक्षाहरुमा सुधार ल्याउने उहाँको भनाई थियो । 
कार्यक्रममा नगरउपप्रमुख नरमाया कार्कीले पनि विद्यार्थीहरुलाई उच्च शिक्षा हासिलका गर्न शुभकामना दिनुभयो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकहरुको उपस्थिति रहेको थियो । ००००००

प्रतिकृया दिनुहोस