इलाममा ३४ करोड ८७ लाख रुपैयाँमा बने ५९ वटा कुलो
बिर्तामोड, १७ साउन ।
इलाममा आर्थिक वर्ष २०८०÷८१ मा ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ रुपैयाँको लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् ।
माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग हुनुहुन्छ ।
गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन् । उहाँको टोलमा ३९ लाख २१ हजार रुपैयाँको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो ।
माईजोगमाई गाउँपालिका–२ लप्सीबोटेका किसान कुमार राई पनि खुसी हुनुहुन्छ । राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा ५० लाख ५५ हजार आठ सय ८३ रुपैयाँ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी बजुरखोलामा कुलो निर्माण भएको छ ।
योङहाङ र राई प्रतिनिधि उदाहरण मात्र हुनुहुन्छ । इलामका विभिन्न पालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन् । इलाममा आर्थिक वर्ष २०८०÷८१ मा ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ रुपैयाँ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । सूर्योदय नगरपालिकामा चार करोड १९ लाख २६ हजार ६ सय ३४रुपैयाँको लागतमा १०, इलाम नगरपालिकामा ६ करोड ८६ लाख ५१ हजार ६४ रुपैयाँको लागतमा नौ, माङसेबुङ गाउँपालिकामा तीन करोड ४२ लाख ९४ हजार ६ सय ६४ रुपैयाँको लागतमा आठ, माई नगरपालिकामा चार करोड पाँच लाख ९८ हजार चार सय ७५ रुपैयाँको लागतमा सातवटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिनुभयो ।
योजनाबाट इलामका एक हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका दुई हजार एक सय ४२ परिवार लाभान्वित भएका छन् । योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०÷२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागतमा साझेदारी गरेको थियो । ०००००००
प्रतिकृया दिनुहोस