एमालेले तोक्यो सातै प्रदेशमा नयाँ इन्चार्ज
बिर्तामोड, १७ साउन ।
नेकपा एमालेमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरिएको छ । आज बसेको सचिवालय बैठकले सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो । जिम्मेवारी पाउने इन्चार्जहरुमा शेरधन राई – कोशी, लीलानाथ श्रेष्ठ – मधेश, डा. राजन भट्टराई – बागमती, किरण गुरुङ – गण्डकी, पद्मा अर्याल – लुम्बिनी, गोरखबहादुर बोगटी – कर्णाली र लेखराज भट्ट – सुदूरपश्चिम हुनुहुन्छ । यसैगरी बैठकले दुई जनालाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको छ ।
आज बसेको सचिवालय बैठकले मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य रहेका लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । त्यस्तै,
एमालेले रिक्त रहेको पार्टी उपाध्यक्षमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । आज बसेको पार्टी सचिवालय बैठकले उपाध्यक्षमा बराललाई मनोनीत गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
महासचिव पोखरेलले भन्नुभयो, ‘उपाध्यक्षको रिक्त पदमा स्थायी कमिटी सदस्य गुरु बराललाई मनोनयन गर्ने निर्णय गरेका छौँ ।’
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि खाली पदमा बराललाई मनोनीत गरिएको हो । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।
साथै, स्थायी कमिटीमा पनि दुई जना सदस्य थपिएका छन् । मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको पोखरेलले बताउनु भयो । त्यस्तै, केन्द्रीय कमिटीमा १७ जना मनोनीत भएका छन् । महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुवास कर्माचार्य ( सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहनुभएको छ ।
यस्तै, केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहनुभएको छ । ०००००००००
प्रतिकृया दिनुहोस