निर्माणको नतिजा देखिने गरी काम गर्न निर्देशन
काठमाडौँ, १७ पुस ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुंगा नौबिसे मुग्लिन सडक निर्माणको नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
निर्माणाधिन सडकको २०८१ पुस १७ गते आज स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयहरुलाई सो निर्देशन दिनुभएको हो । निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय र नेतृत्व गरी समाधान गर्ने भन्दै उहाँले अझै पनि निर्माण कार्यलाई सुस्त पारिए सह्य नहुने समेत चेतावनी समेत दिनुभयो ।
नागढुंगा–नौविसे–मुग्लिन, नौविसे–मलेखु तथा मलेखु–मुग्लिन खण्डको निरीक्षण गर्दै उहाँले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाईफलाईनको रुपमा रहेको सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिनु भएको हो ।
निरीक्षणका क्रममा रहनु भएका मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रुपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेश गर्न निर्माण कम्पनी एवम् आयोजना प्रमुखहरुलाई निर्देशन दिनुभयो । कुनै पनि बहाना र कारणले निर्माणमा ढिला सुस्ती नगर्न भन्दै उहाँले कामको परिणाम देखिने गरी निर्माणमा द्रुतता दिन आग्रह गर्नुभयो । यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले अब परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको जनाउनुभयो ।
मन्त्री दाहाल एवम् मन्त्रालयका अधिकारीहरुसँग निर्माण कम्पनीका प्रतिनिधिहरुले यसअघि निर्माण सामग्री जुटाउन देखिएको समस्या मन्त्रीकै अग्रसरतामा भएको पहल पछि समाधान भएको बताएका थिए । उनीहरुले अब मासिक लक्ष्य निर्धारण गरी लक्ष्य प्राप्ति हुने ढंगबाट काम गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यभार सम्हालेपछि यसअघि समेत मन्त्री दाहालले यस सडक खण्डको निरीक्षण गरी कामलाई तीव्र बनाउन निर्देशन दिनु भएको थियो । मन्त्रीको निर्देशन र निरीक्षण पछि यी सडकखण्डहरुमा कामले गति लिएको छ । कामलाई थप तीव्र बनाउन ताकेताका लागि मन्त्री निरीक्षणका लागि पुग्नु भएको हो । ०००००
प्रतिकृया दिनुहोस