कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै 

विर्तामोड, १७ पुस ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट ज्यान गएको छ ।
लिम्बू नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आउनुभएको थियो । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिनुभयो । वनमा दाउरा काट्न जानुभएकी लिम्बू बेलुकीसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमा मृत फेला पर्नुभएको प्रहरी प्रमुख खत्रीले बताउनुभयो ।
नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको जनाउँदै स्थानीयवासी रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बताउनुभयो । उहाँले हात्तीको त्रासका कारण यहाँका स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य रहेका उल्लेख गर्नुभयो ।
दुई हप्ताअघि सुन्दरहरैँचा–७ को सृजना सामुदायिक वनमा दाउरा खोज्न गएका बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट ज्यान गएको थियो ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गर्दै आएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो । उहाँले मोरङमा एक वर्षमा तीन वटा जङ्गली हात्ती मृत फेला परेका उल्लेख गर्नुभयो ।
जङ्गली हात्तीको बथानले झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेकाले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिने गरेको स्थानीयवासीले बताएका छन् । ०००००
 

प्रतिकृया दिनुहोस