कुवेतको १६ अर्ब डलरको पाइपलाइन सम्झौता 

विर्तामोड, १० साउन । 
कुवेतको सरकारी स्वामित्वको कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले अन्तर्राष्ट्रिय लगानी कम्पनीहरू ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग १६ अर्ब अमेरिकी डलर बराबरको पाइपलाइन पूर्वाधार विस्तार सम्झौता गरेको छ ।
केपीसीका अनुसार सम्झौताअन्तर्गत कुवेत आयल कम्पनीको घरेलु तथा निर्यातमुखी सम्पूर्ण पाइपलाइन सञ्जाल विस्तार गरिनेछ । दुई दशकभन्दा बढी अवधिको यो परियोजनामा ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्ड नेतृत्वको कन्सोर्टियमले ३२० किलोमिटर लामो पाइपलाइन सञ्जालको ४९ प्रतिशत स्वामित्व लिनेछ भने बाँकी ५१ प्रतिशत हिस्सा कुवेती पक्षकै नियन्त्रणमा रहनेछ ।
इरानसँगको तनाव र हर्मुज जलसन्धिमा उत्पन्न अवरोधका कारण खाडी मुलुकहरूले ऊर्जा उत्पादन र निर्यात क्षमता विस्तार गरिरहेका बेला यो सम्झौता भएको हो ।
केपीसीका प्रमुख कार्यकारी नवाफ साउद अल–सबाहले यसलाई कुवेतको इतिहासकै सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको उल्लेख गर्दै देशको आर्थिक विकासका लागि महत्वपूर्ण कोशेढुङ्गा भएको बताउनुभएको छ । उहाँका अनुसार अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिताले कुवेतको ऊर्जा क्षेत्र र दीर्घकालीन विकास रणनीतिप्रतिको विश्वसनीयता थप मजबुत बनाएको छ ।
यस सम्झौताबाट कुवेत आयल कम्पनीले अग्रिम रूपमा करिव ८ अर्ब अमेरिकी डलर प्राप्त गर्ने अपेक्षा गरिएको छ । कम्पनीले सन् २०३५ सम्म दैनिक कच्चा तेल उत्पादन क्षमता ४० लाख ब्यारेल पु¥याउने लक्ष्य लिएको छ । ००००००
 

प्रतिकृया दिनुहोस