नागढुंगा सुरुङमार्गको शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको विषयमा चौतर्फी आलोचना र विरोध 

काठमाडौं, १० साउन । 
नागढुंगा–थानकोट सुरुङमार्गको शिलालेखबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम हटाइएको भन्ने दाबी सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पनि शिलालेखबाट ओलीको नाम हटाइएको भन्दै सरकारको आलोचना गर्नुभएको छ ।
महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत शिलालेखबाट नाम मेटिए पनि इतिहास नमेटिने टिप्पणी गर्दै यसलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको उदाहरण भएको बताउनुभयो । उहाँले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य र इतिहासको सम्मान गर्न नसकेको बताउनुभयो ।
तर, नागढुंगा सुरुङमार्ग आयोजनाले भने सामाजिक सञ्जालमा गरिएको दाबी तथ्यसँग नमिल्ने जनाएको छ । आयोजनाका उप–आयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ साल कात्तिक ४ गते गरेको शिलान्यासको शिलालेख जानाजानी वा राजनीतिक कारणले हटाइएको होइन ।
उहाँका अनुसार सुरुङमार्ग निर्माणका क्रममा भारी उपकरण सञ्चालन गर्नुपर्ने भएकाले शिलालेखलाई सुरक्षित राख्न निर्माणस्थलबाट हटाएर सडक विभागको बबरमहलस्थित वैदेशिक महाशाखाको कार्यालयमा राखिएको थियो । पछि उक्त भवन जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि शिलालेख भवनको भग्नावशेष र माटोमुनि पुरिएको अवस्था रहेको आयोजनाले जनाएको छ । 
आयोजनाका अनुसार राष्ट्रिय गौरवका आयोजना सम्पन्न भएपछि शिलान्यासका शिलालेखलाई पुनः उपयुक्त स्थानमा स्थापना गर्ने प्रचलन रहेको छ । बबरमहलस्थित भग्नावशेष हटाएपछि पुरानो शिलालेख सुरक्षित अवस्थामा फेला परे त्यसैलाई पुनःस्थापना गरिने र फेला नपरे वा प्रयोगयोग्य नरहे सरकारको निर्णयअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।
नागढुंगा–थानकोट सुरुङमार्ग नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग हो । थानकोटदेखि धादिङको सिस्नेखोलासम्म जोडिने यो राष्ट्रिय गौरवको आयोजनाले नागढुंगा सडक खण्डको ट्राफिक जाम र दुर्घटनाको जोखिम घटाउने अपेक्षा गरिएको छ । ०००००
 

प्रतिकृया दिनुहोस