Close This

म्याग्दीमा १४ वर्षमै आमा बन्ने अवस्था 

म्याग्दी, ३१ भदौ ।
म्याग्दीमा बालविवाहका कारण शारीरिक तथा मानसिक रूपमा परिपक्व नहुँदै किशोरीहरू गर्भवती हुने र आमा बन्ने अवस्था देखिएको छ । गत आर्थिक वर्ष जिल्लामा सुत्केरी भएकामध्ये झन्डै २० प्रतिशत २० वर्षमुनिका रहेका छन् । एक किशोरीले त १४ वर्षकै उमेरमा आमा बन्नुपरेको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा जिल्लामा ५ सय ८५ जना सुत्केरी भएकामा १ सय १६ जना अर्थात् १९ दशमलव ८२ प्रतिशत २० वर्षमुनिका छन् । तीमध्ये ६ जना घरमै सुत्केरी भएका हुन् ।
यस्तै, गत वर्ष सुरक्षित गर्भपतन सेवा लिएका ७ सय ९० जनामध्ये ४३ जना अर्थात् ५ दशमलव ७५ प्रतिशत २० वर्षमुनिका रहेका छन् । अघिल्लो आर्थिक वर्षमा भने सुत्केरी र सुरक्षित गर्भपतन सेवा लिने गरी २० वर्षमुनिका १ सय ९० जना रहेका थिए ।
प्रदेश अस्पताल बेनीका अनुसार गत वर्ष १४ वर्षकी एक किशोरीले प्रसूति सेवा लिएकी थिइन् । त्यस्तै, १५ वर्षका तीन, १६ वर्षका चार, १७ वर्षका १० र १८ वर्षका २२ जनाले प्रसूति सेवा लिएका थिए । 
चिकित्सकहरूका अनुसार बालविवाह, विद्यालय छाड्ने अवस्था, गरिबी, सामाजिक दबाब, लैङ्गिक असमानता तथा किशोरकिशोरीमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानको कमीले कम उमेरमा गर्भधारणको जोखिम बढाएको छ । शरीर पूर्ण रूपमा विकसित नभइसकेका कारण कम उमेरको गर्भावस्था र प्रसूतिको समयमा स्वास्थ्य जटिलता निम्तिन सक्ने जोखिमसमेत हुन्छ ।
पछिल्लो १४ महिनामा प्रदेश अस्पताल बेनीमा सुत्केरी हुन आएका २० वर्षमुनिका किशोरीमध्ये ६८ दशमलव ४ प्रतिशत दलित समुदायका रहेको अस्पतालको अभिलेखले देखाएको छ ।
विशेषज्ञहरूले बालविवाह रोक्न कानुनी सचेतनासँगै किशोरीको विद्यालय शिक्षा निरन्तरता, परिवारको आर्थिक अवस्था सुधार, किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र जोखिममा रहेका बालबालिकाको पहिचान तथा संरक्षणलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । ०००००
 

प्रतिकृया दिनुहोस