एकदिवसीय मान्यता जोगाउन नेपाललाई अब कठिन चुनौती
विर्तामोड, ३१ भदौ ।
आइसिसी विश्वकप क्रिकेट लिग–२ मा खराब प्रदर्शनपछि कप्तान परिवर्तन गरेको नेपाल क्रिकेट संघको निर्णय पछिल्लो समय सही दिशामा गएको देखिन थालेको छ । कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपालले एसिसी प्रिमियर कप जित्दै दोस्रोपटक एसिया कपमा स्थान बनाएपछि टोलीको आत्मविश्वास बढेको छ ।
सन्दीपको कप्तानीमा नेपालले प्रिमियर कपमा ६ खेल खेल्दा पाँच जित र एक हार व्यहोरेको थियो। फाइनलमा संयुक्त अरब इमिरेट्सलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
प्रतियोगितामा सन्दीपले ६ खेलमा १७ विकेट लिनुभएको थियो। उहाँको इकोनमी रेट २ दशमलव ९८ रहेको थियो । उत्कृष्ट प्रदर्शनका कारण उहाँ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । एकदिवसीय ढाँचाको प्रिमियर कपमा लगातार दोस्रोपटक उहाँले यो अवार्ड पाउनुभएको हो ।
पूर्वराष्ट्रिय खेलाडी दीपेन्द्र चौधरीका अनुसार नयाँ र पुराना खेलाडी सम्मिलित टोलीलाई सन्दीपले राम्रोसँग व्यवस्थापन गर्नुभएको छ । बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख र अर्जुन कुमाललगायत खेलाडीको प्रदर्शन पनि नेपालको सफलतामा महत्वपूर्ण रहेको उहाँले बताउनुभएको छ ।
अब भने नेपाली टोलीसामु आइसिसी विश्वकप लिग–२ मा एकदिवसीय मान्यता जोगाउने चुनौती छ । नेपालले लिग–२ को अन्तिम शृङ्खलामा ओमान र क्यानडासँग खेल्नेछ ।
हाल नेपाल ३२ खेलबाट ११ जित, १९ हार र दुई बराबरीसहित २४ अङ्क जोडेर तालिकाको सातौँ स्थानमा छ । एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ भित्र पर्नुपर्ने भएकाले नेपालले अन्तिम शृङ्खलामा कम्तीमा तीन खेल जित्नुपर्ने समीकरण बनेको छ ।
नेपालले लिग–२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्नेछ । एसिया कपको सफलताबाट बढेको आत्मविश्वासलाई लिग–२ मा उपयोग गर्दै नेपालले एकदिवसीय मान्यता जोगाउने लक्ष्य राखेको छ । ००००





..jpeg)





प्रतिकृया दिनुहोस