Close This

एमाले पुनर्गठनमा आफू दृढ रहेको विद्या भण्डारीको भनाइ 

विर्तामोड, ३१ भदौ ।
पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू नेकपा एमालेको पुनर्गठन र सशक्त पार्टी निर्माणको पक्षमा रहेको बताउँदै नेतृत्वदायी व्यक्तिहरूलाई निषेध नगरी अघि बढ्न आग्रह गर्नुभएको छ । हिजो मंगलबार बालुवाटारस्थित आफ्नै निवासमा एमाले महासचिव शंकर पोखरेलसँग भएको भेटमा उहाँले पार्टी र कम्युनिष्ट आन्दोलनको रक्षाका पक्षमा आफू दृढ रहेको बताउनुभएको हो ।
भण्डारीको सचिवालयका अनुसार काभ्रेको बल्थलीमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटबारे एकतर्फी प्रचार भएपछि आफ्नो धारणा स्पष्ट पार्न उहाँले महासचिव पोखरेलसँग भेट गर्नुभएको हो ।                                                                                                              
ओलीसँगको भेटलाई संयोग मात्र भएको बताउँदै भण्डारीले कुनै सम्झौता वा शर्तमा छलफल नभएको स्पष्ट पार्नुभएको सचिवालयले जनाएको छ । पार्टी र आन्दोलन जोगाउने नाममा निश्चित व्यक्तिलाई निषेध, तेजोबध र मानमर्दन गर्ने क्रम उचित नभएको उहाँको भनाइ थियो ।
भण्डारीले सुदृढ पार्टी निर्माण, कम्युनिष्ट आन्दोलनको संरक्षण र जनतामा देखिएको निराशा चिर्न विधिसम्मत पहल आवश्यक रहेको बताउनुभयो । पार्टीका तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता–कार्यकर्ताले दिएका सुझावलाई आफूले समर्थन गर्ने पनि उहाँले स्पष्ट पार्नुभएको छ । ०००००
 

प्रतिकृया दिनुहोस