एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड रुपैयाँ पाउने 

काठमाडौँ, ८ कात्तिक ।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ । 
अघिल्लो संस्करणको तुलनामा यसपटक विजेता टोलीको पुरस्कार राशि रु ४० लाखले बढाइएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ८० लाख रुपैयाँ, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिनुभयो ।  
गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै एक करोड १० लाख रुपैयाँ पुरस्कार पाएको थियो । यसपटक विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ ।
एनपिएलको तेस्रो संस्करण भोलि सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । यसपटक पनि प्रतियोगितामा आठ वटा टोलीको सहभागिता रहनेछ । ०००००
 

प्रतिकृया दिनुहोस