बराह सहकारीका अध्यक्ष शिवकुमार लामिछाने पक्राउ

विराटनगर, २ मंसिर । 
बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेका धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवकुमार लामिछाने पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले लामिछानेलाई पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले पुष्टि गर्नुभएको छ ।
गृहमन्त्री सुधन गुरुङले पनि सामाजिक सञ्जालमार्फत बराह सहकारीका मुख्य योजनाकार पक्राउ परेको जानकारी दिँदै पूर्वका बचतकर्ताले न्याय पाउने प्रक्रिया अघि बढेको बताउनुभएको छ ।
गृहमन्त्री गुरुङका अनुसार पाँच अर्ब ८८ करोड रुपैयाँभन्दा बढी बिगो हिनामिनाका मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सरकार सफल भएको छ । उहाँले बाँकी दोषीको खोजी र कारबाही प्रक्रिया पनि तीव्र बनाइने बताउनुभएको छ ।
बराह सहकारीका सञ्चालकले धरानसहित देशभरका चार हजार सात सय ७२ भन्दा बढी बचतकर्ताको १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले गरेको अनुसन्धानअनुसार सहकारीबाट १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार नौ सय १३ रुपैयाँ ठगी तथा अपचलन भएको निष्कर्ष निकालिएको छ ।
प्रहरीको अभियोग पत्र अनुसार पक्राउ परेका लामिछानेमाथि मात्रै दुई अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ हिनामिना गरेको आरोप छ । 
सहकारीका मुख्य सञ्चालक मानबहादुर विश्वकर्मा र गंगा कालिकोटे लगायतका व्यक्ति भने अझै फरार रहेका छन् । बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि सहकारीका अध्यक्षसहित सञ्चालकहरू फरार भएका थिए । ०००००
 

प्रतिकृया दिनुहोस