म्याग्दीमा अवैध हतियार नियन्त्रण अभियान प्रभावकारी, हालसम्म १७२ थान भरुवा बन्दुक बरामद

बिर्तामोड, ३ मंसिर । 
म्याग्दी प्रहरीले वन्यजन्तुको चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सञ्चालन गरेको ‘ब्राबोसेरा’ अभियान प्रभावकारी बन्दै गएको छ ।
अभियानअन्तर्गत हालसम्म जिल्लाका विभिन्न स्थानबाट इजाजतबिना लुकाएर राखिएका १७२ थान भरुवा बन्दुक बरामद भएका छन् ।
बुधबार मात्रै मालिका गाउँपालिका–५ मगरदाङको घरथोकस्थित वन क्षेत्रमा लुकाइएका सात थान भरुवा बन्दुक बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा ती बन्दुक फेला पारेको हो ।
यसअघि आइतबार पनि सोही वडाको पन्थोकस्थित वन क्षेत्रबाट पाँच थान बन्दुक बरामद भएका थिए । पछिल्लो समय मालिका गाउँपालिकाका विभिन्न वन क्षेत्रबाट मात्रै १२ थान अवैध बन्दुक बरामद भएका छन् ।
म्याग्दी प्रहरीले २०८२ साल मङ्सिर १५ गतेदेखि यो अभियान सञ्चालन गरेको हो । ढोरपाटन सिकार आरक्ष, अन्नपूर्ण संरक्षण क्षेत्र तथा सामुदायिक वनमा हुने वन्यजन्तुको चोरीसिकार नियन्त्रण गर्नुका साथै अवैध हतियारबाट हुन सक्ने आपराधिक घटना न्यूनीकरण गर्नु अभियानको मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताउनुभयो ।
प्रहरीले जिल्लाका छवटै स्थानीय तहका वनजङ्गल, गोठ, खोल्साखोल्सी, रूखका टोड्का तथा पुराना घरगोठ र जमिनमुनि लुकाइएका अवस्थामा बन्दुक फेला पारिरहेको छ । अधिकांश हतियार स्थानीयवासीको सूचना, जनप्रतिनिधिको समन्वय र प्रहरीको खोजतलासका आधारमा बरामद भएका हुन् । प्रहरी निरीक्षक सागर तिमिल्सिनाले समुदायको सहयोगका कारण अभियान सफल भइरहेको बताउनुभयो । उहाँले अवैध हतियार लुकाएर राखेको स्थानबारे सूचना दिने व्यक्तिको परिचय गोप्य राखिने भएकाले प्रहरीलाई सूचना उपलब्ध गराउन आग्रह गर्नुभयो । कानुनी व्यवस्थाअनुसार इजाजतबिना हातहतियार राख्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । प्रहरीले अवैध हातहतियार नियन्त्रण, वन्यजन्तुको चोरीसिकार रोकथाम र शान्तिसुरक्षा कायम गर्ने उद्देश्यसहित अभियानलाई निरन्तरता दिने जनाएको छ । ०००००

प्रतिकृया दिनुहोस