आजदेखि १२औँ नेपाल भौगर्भिक सम्मेलन सुरु, २७ देशका विज्ञ सहभागी हुँदै

बिर्तामोड, ३ मंसिर । 
नेपाल भौगर्भिक समाजको आयोजनामा १२औँ नेपाल भौगर्भिक सम्मेलन आजदेखि सुरु हुँदैछ । मङ्सिर ५ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय सम्मेलनमा २७ देशका ३५० भन्दा बढी भूगर्भविद्, वैज्ञानिक तथा अनुसन्धानकर्ताको सहभागिता रहनेछ ।
सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ ।
सम्मेलनमा हिमालय क्षेत्रको भूगर्भीय अवस्था, जलवायु परिवर्तन, प्राकृतिक विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा पर्वतीय क्षेत्रको विकासबारे वैज्ञानिक छलफल हुनेछ ।
सम्मेलनमा १७० वटा वैज्ञानिक प्रस्तुति, सात मुख्य सत्र र पाँच विशेष वैज्ञानिक सत्र सञ्चालन गरिने नेपाल भौगर्भिक समाजका महासचिव शिवकुमार बाँस्कोटाले जानकारी दिनुभयो ।
सम्मेलनमा विभिन्न विश्वविद्यालय, सरकारी निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । साथै, भूगर्भ विज्ञानसँग सम्बन्धित प्रविधि र सेवाबारे जानकारी दिन प्रदर्शनी कक्षसमेत राखिनेछ ।
सम्मेलनले भूगर्भीय अनुसन्धान, भू–विपद् जोखिम न्यूनीकरण, पूर्वाधार विकास तथा प्राकृतिक स्रोतको दिगो उपयोगमा वैज्ञानिक ज्ञानको प्रयोग बढाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।


 

प्रतिकृया दिनुहोस