हाइटीमा फसेका आफ्ना नागरिकलाई उद्धार गर्ने अमेरिकी तयारी

बिर्तामोड, ४ चैत ।  

क्यारेबियन मुलुक हाइटीमा हप्तौंदेखि जारी हिंसात्मक झडपपछि संयुक्त राज्य अमेरिकाले हाइटीबाट आफ्ना नागरिकको उद्धारका लागि चार्टर उडानको व्यवस्था गर्न लागेको अमेरिकी दूतावासले जनाएको छ ।
राजधानी पोर्ट–ओ–प्रिन्सको मुख्य विमानस्थल अशान्तिका कारण बन्द रहेकाले हाइटीको दोस्रो ठूलो शहर क्याप–हाइटियनबाट आपतकालीन उडान हुनेछ ।
हाइटीस्थित अमेरिकी दूतावासले आफ्नो वेबसाइटमा पोस्ट गरेको सुरक्षा चेतावनीमा भनिएको छ, “क्याप–हाइटियनको सुरक्षा अवस्था स्थिर रहने ठानेर हामी क्याप–हाइटियनबाट संयुक्त राज्य अमेरिकामा अमेरिकी नागरिकका लागि चार्टर उडानको व्यवस्था गर्दैछौँ ।”
दूताबासका अनुसार क्याप–हाइटियनस्थित विमानस्थललाई उडानका आवश्यकता अनुसार समय समयमा खुला गरिएको छ ।
उद्धारका लागि कुनै मिति घोषणा गरिएको छैन र कति जना अमेरिकीहरू उडान भर्न सक्षम हुनेछन् भन्ने स्पष्ट बताइएको छैन ।
अमेरिकी दूतावासले पोर्ट–ओ–प्रिन्सदेखि क्याप–हाइटियनसम्मको करिब २०० किलोमिटर सडक मार्ग यात्राका लागि जोखिमपूर्ण’ भएको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई भनेको छ, “यदि तपाईं क्याप–हाइटियन विमानस्थलसम्म सुरक्षित रूपमा पुग्नसक्ने विश्वास लागेमा मात्र यात्रा तय गर्नुहोला ।”
अमेरिकाले गत आइतबार पोर्ट–ओ–प्रिन्सस्थित आफ्नो दूतावासबाट गैर–आवश्यक अमेरिकी कर्मचारीहरूलाई विमानमार्फत उद्धार गरेको थियो ।
सङ्कटका कारण अन्य धेरै देश र युरोपेली सङ्घले कूटनीतिक अधिकारीहरूलाई फिर्ता पठाएका छन् । संयुक्त राष्ट्रसङ्घले पनि अत्यावश्यक बाहेकका कर्मचारीलाई बाहिर निकाल्ने बताएको छ । ००००००
 

प्रतिकृया दिनुहोस