वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन

बिर्तामोड, २३ बैशाख ।
वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन्स रोगबाट पीडित नेपालको उपचारका क्रममा आज दिउँसो काठमाण्डौको थापाथालीमा रहेको नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
७१ वर्षीय नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्थ्यो । केही दिनअघि अस्पताल भर्ना भए पनि आज उहाँलाई आईसीयूमा सारिएको थियो ।
नेता नेपाल २०१० साल पुस ८ गते भोजपुरको पोखरे गाउँमा जन्मिनुभएको हो । एमाले वृत्तमा कडा मिजासका बौद्धिक नेताको परिचय बनाएका उहाँले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको शुरुआत गर्नुभएको थियो ।
नेपाल सूचना तथा सञ्चार, जलस्रोत, स्वास्थ्य तथा शिक्षा तथा खेलकुदमन्त्री बन्नुभएको थियो । साहित्यकारसमेत रहेका नेपालका उपन्यास, कथा, गीत, नियात्रालगायतमा कलम चलाउनुभएको थियो ।
२०८० साल चैत ३० मा भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी हुने क्रममा अचानक बिरामी परेपछि उहाँ सार्वजनिक कार्यक्रममा त्यति धेरै सक्रिय रहनुभएन । उहाँ सप्तकोशी मिडिया प्रालिको अध्यक्षसमेत हुनुहुन्थ्यो । ०००००००
प्रतिकृया दिनुहोस