एमाले प्रतिनिधि परिषद् बैठकमा निःशुल्क वाईफाई प्रयोग गर्न सकिने 

विर्तामोड, ७ बैशाख ।

नेकपा एमालेले भोलिबाट ललितपुरको गोदावरीमा सुरू हुने महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने भएको छ ।
बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरुले प्रस्तुत गर्ने दस्तावेज मोबाइल एपबाट हेर्न सक्ने व्यवस्था एमालेले गरेको छ । त्यसका लागि बैठकस्थलमा निशुल्क वाईफाईको व्यवस्था गरिएको छ ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक, आयोगहरू तथा सल्लाहकार परिषद्ले दशौं महाधिवेशन यताका गतिविधि समेटेर प्रतिवेदन पेश गर्ने तयारी छ । ती सबै दस्तावेज मोबाइल एपबाट सहभागीहरुले अध्ययन गर्न सक्नेछन् ।
परिषद् बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहभागीहरुको सुझाव समेत एपबाट नै लिने व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार, पार्टीले लिनुपर्ने कार्यक्रमबारे सहभागीहरुबीच पोल (मत सर्वेक्षण) समेत गरिने छ ।
२०७८ मंसिरमा सम्पन्न दशौं महाधिवेशनका प्रतिनिधि स्वतः सदस्य हुने यो बैठकमा दुई हजार ४५४ जना सहभागी हुने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताउनुभयो । उहाँका अनुसार, दशौं महाधिवेशनका दुई हजार ७३ जना प्रतिनिधि बाहेक केन्द्रीय कमिटीका सदस्य, विभिन्न निकायमा मनोनीत सदस्य समेत यो बैठकमा सहभागी हुन लागेका छन् ।
दुई दिन चल्ने यो बैठकले दशौं महाधिवेशन यता पार्टीले गरेको निर्णयहरुको समीक्षा गरी आगामी कार्यक्रम तय गरिने महासचिव पोखरेलले बताउनुभयो । ००००००
 

प्रतिकृया दिनुहोस